बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मन्त्री कुलमान घिसिङसँग नाडाको छलफल, २८ बुँदे सुझाव पेस

बिहीबार , असोज ९ २०८२
मन्त्री कुलमान घिसिङसँग नाडाको छलफल, २८ बुँदे सुझाव पेस

यसले अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन सहयोग गर्ने धारणा राखे। हाल नेपालमा सबै प्रकारका सवारी साधनहरूको बिक्रीमा गिरावट आएको तथ्य प्रस्तुत गर्दै अटोमोबाइल व्यवसायलाई सहज बनाउन व्यावहारिक नीति आवश्यक रहेको उनले औंल्याए।

काठमाडौं- नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रका समग्र समस्याहरूको सम्बन्धमा विस्तृत छलफल गरेको छ। 

बुधबार भएको छलफलको क्रममा अध्यक्ष चौधरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभाग नाडाको मुख्य सरोकारवाला संस्था भएकाले यसले ल्याउने नीति-नियमहरूले अटोमोबाइल क्षेत्रलाई प्रत्यक्ष असर गर्ने बताउँदै विगतका केही नीतिहरुले व्यवसायलाई फस्टाउन नदिएको र त्यसको परिणामस्वरूप सरकारलाई बुझाउने राजस्वमा समेत गिरावट आएको उल्लेख गरे।

अध्यक्ष चौधरीले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनका लागि हाल ६० प्रतिशत रहेको बैंक वित्तपोषण सीमा बढाएर ८० प्रतिशत पुर्याउनुपर्ने सुझाव दिए। यसले अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन सहयोग गर्ने धारणा राखे। हाल नेपालमा सबै प्रकारका सवारी साधनहरूको बिक्रीमा गिरावट आएको तथ्य प्रस्तुत गर्दै अटोमोबाइल व्यवसायलाई सहज बनाउन व्यावहारिक नीति आवश्यक रहेको उनले औँल्याए।

विद्युतीय सवारी साधनको बढ्दो आयातसँगै आवश्यक चार्जिङ पूर्वाधारको कमी रहेको भन्दै उनले भारतमा १ सय ५ वटा विद्युतीय सवारी साधनका लागि एउटा चार्जिङ स्टेसनको व्यवस्था भएकोमा नेपालमा भने २४ वटा सवारीका लागि मात्रै एउटा चार्जिङ स्टेसन रहेको छ। यस क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले अझ ठोस कदम चाल्नुपर्ने चौधरीले बताए।

साथै सवारी लाइसेन्स वितरण प्रणालीलाई सहज बनाउनुपर्ने, इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन प्रक्रियागत रूपमा जटिल भएकोले सुधार गर्नुपर्ने, हाल मन्त्रालयले ल्याउन लागेको सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका, २०८२ लाई तर्कसंगत बनाउनुपर्ने तथा अन्तिम रूप दिनु अघि सरोकारवालासँग गहिरो छलफल गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। 

अध्यक्ष चौधरीले सवारी साधनलाई विलासी वस्तुको सूचीमा राखेर उच्च महसुल दर कायम गरिनु अन्तर्राष्ट्रिय परिस्थितिसँग मेल नखाने भएकाले यसमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले यातायात व्यवस्था विभाग तथा यातायात व्यवस्था कार्यालयका अभिलेख र प्रक्रियाहरुलाई पूर्णरूपमा डिजिटलाइज गर्नुपर्ने र डीसी चार्जिङ स्टेसन स्थापनाका लागि ट्रान्सफर्मर जडानमा सरकारले दिएको सहयोगलाई निरन्तरता दिनुपर्ने मागसमेत राखे।

सो छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतीले चीनसँगको सीमा अझै पूर्णरूपमा नखुलेकोले दसैँ नजिकिँदै गर्दा अटोमोबाइल व्यवसायमा ठूलो असर परेको गुनासो गरे। उनले भारतका मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्वाध प्रवेश दिनाले नेपाली व्यवसायमा नोक्सानी भएको भन्दै यसलाई २४ घण्टामा सीमित गर्नुपर्ने र भन्सार बिन्दुबाट अधिकतम १६ किलोमिटर भित्र मात्रै सञ्चालन गर्न दिने व्यवस्था गर्नुपर्ने माग राखे।

साथै छिमेकी मुलुकसँग हुने सम्झौतामा रहेका प्रावधान जस्ताको तस्तै लागु भए नेपालका व्यावसायिक सवारी साधनको व्यवसायमा ठूलो व्यवधान आउने भएकाले सरकारले सो सम्झौतामा हस्ताक्षर गर्नु अघि गम्भीर अध्ययन गर्नुपर्ने उनको भनाइ थियो। 

छलफलको क्रममा अध्यक्ष चौधरीले अटोमोवाइल क्षेत्रको दीर्घकालीन सुधारका लागि विस्तृत २८ बुँदे सुझाव पनि मन्त्रीलाई बुझाए। 

बैठकको अन्त्यमा मन्त्री घिसिङले नेपालमा विद्युतीय सवारी साधनको प्रबद्र्धनका लागि नेपाल विद्युत प्राधिकरणले अरबौँको लगानीमा चार्जिङ स्टेसन निर्माण गरिरहेको र जो कोहीले पनि चार्जिङ स्टेसन स्थापना गर्न सक्ने वातावरण बनाइने जानकारी दिए। साथै दुर्लभ खनिज पदार्थ प्रयोग गरेर बनाइने ब्याट्रीहरूको पुनःप्रयोगका लागि नेपालमै रिसाइक्लिङ प्लान्ट स्थापना गरिने आश्वासन पनि मन्त्री घिसिङले दिए। 

छलफलमा अध्यक्ष करण चौधरीसँगै महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्यसमिति सदस्य प्रकाश कपुरी, कपिल शिवाकोटी, सोहन श्रेष्ठ तथा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलको उपस्थिति रहेको थियो।


प्रकाशित : बिहीबार , असोज ९ २०८२११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend