काठमाडौं- मुग्लिन-काठमाडौं सडक खण्डमा बिनाअवरोध सवारीसाधन सञ्चालन भइरहेको छ।
बुधबार राति खसेको पहिरो राति साढे १२ बजे नै पन्छाएसँगै बिहानदेखि सवारीसाधन सहजरुपमा सञ्चालन भइरहेका हुन्। राति खसेको पहिरोले सडकमै रोकिएका सवारी साधनहरुको चाप भने बढेको छ।
पृथ्वी राजमार्गको जवाङ खोलामा गएको सोमबार राति सुक्खा पहिरो गएयता पटक-पटक पहिरो खसिरहेको छ।
बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० को जवाङ खोलामा गएको सोमबार मध्यराति सुक्खा पहिरो खसेको थियो। मंगलबार बिहानपख पहिरो पन्छाएर बाटो एकतर्फी खोल्ने प्रयास गरेपनि पुनः ठूलो पहिरो खसेको थियो। त्यसपछि पहिरो पन्छाइएको सडकमा बुधबार राति पुन: पहिरो खसेको थियो।
यस्तै मुग्लिन-नारायणघाट सडक खण्डको तुइनखोलानजिक झरेको पहिरो भने हटाउने क्रम जारी छ। बुधबार बेलुका पानी परेकाले पहिरो पन्छाउने काम रोकिएको थियो।

सडक डिभिजन भरतपुरका अनुसार आज बिहीबार बिहानैबाट पहिरो पन्छाउने काम जारी छ। सबै पहिरो हटाएर बाटो खुलाउन कम्तिमा दुई दिन लाग्नसक्ने अनुमान गरिएको कार्यालयले जनाएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुक्खा पहिरो निरन्तर खसिरहेकोले दुईतर्फ सडक अवरुद्ध भएको हो। सडक डिभिजन भरतपुरका अनुसार पहिरो गएको स्थानमा साघुँरो भएका कारण सबै उपकरण एकैपटक प्रयोग गर्न नसकिने अवस्था छ।