काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भए पनि स्थानीय वायुसँगै आंशिक प्रभाव जारी रहेको जनाएको छ।
महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू–भागमा साधारणतया बदली रहने छ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत महाशाखाले जनाएको छ।
बिहीबार राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा हुने अनुमान गरिएको छ। तर कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान छ।
मौसमविद्हरूका अनुसार बिहीबार बिहान काठमाडौं उपत्यकासहित धेरै स्थानमा वर्षा नहुने भए पनि अपराह्नपछि विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। उनीहरूले दसैं अवधिभरै बिहान मौसम खुला र अपराह्नपछि वर्षा हुने क्रम देखिने बताएका छन्। रासस