झापा- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड झापा कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चरणमा दुई हजार ११३ मेट्रिकटन रासायनिक मल वितरण गरेको छ। तीमध्ये एक हजार ३५५ मेट्रिकटन युरिया र ७५८ मेट्रिकटन डीएपी मल छन्।
मल स्थानीय सहकारी र कृषि संस्थामार्फत वितरण गरेको कार्यालयका प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिए। पालिकाले तोकेका सहकारी र कृषि संस्थाहरुले लगेको मल किसानलाई बिक्री गर्दै आएका छन्।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा धानखेतीका लागि एक हजार ३०५ मेट्रिकटन युरिया र ७५८ मेट्रिकटन डीएपी मल बिक्रीवितरण गरिएको उनले बताए। सोही अवधिमा चिया खेतीका लागि ५० मेट्रिकटन युरिया मल वितरण गरेको कार्यालयले जनाएको छ।
उनले धान खेतीका लागि पालिकाहरुले १४० सहकारी र कृषि संस्थालाई मल वितरणका लागि अधिकृत विक्रेता सिफारिस गरेका थिए। पहिलो चरणमा धान खेतीका लागि प्राप्त डीएपी मलमध्ये हाल कार्यालयमा २२८ मेट्रिकटन मल मौज्दात छ।
चियाका लागि आएको मलमध्ये ६०० मेट्रिकटन युरिया र ४०० मेट्रिकटन डीएपी मल भने कार्यालयमा मौज्दात रहेको उनले जानकारी दिए। चिया तथा कफी विकास बोर्डमा दर्ता भएका चिया उत्पादक कम्पनी तथा संस्थालाई रासायनिक मल उपलब्ध गराउने प्रावधान रहेको उनको भनाइ छ। रासस