काठमाडौं- नारायणघाट-मुग्लिन सडकखण्डको तुइनखोलामा मंगलबार ठूलो पहिरो खस्दा दुईतर्फ नै सडक अवरुद्ध छ। अहिले एक्जाभेटर प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ।
चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुक्खा पहिरो निरन्तर खसिरहेकोले दुईतर्फ सडक अवरुद्ध भएको हो। बाटो खुलाउन अझै करिब चौबिस घण्टाजति लाग्ने अनुमान गरिएको छ।
तुइनखोलामा गएको शुक्रबार साँझदेखि नै निरन्तर खुक्खा पहिरो खसिरहेको छ। निरन्तर खसेको सुक्खा पहिरो पन्छाएर राजमार्ग खुलाइए पनि मंगलबार अपराह्न फेरि सुक्खा पहिरो खसेको हो।
पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन। निरन्तर ढुंगा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ। दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन्।
