शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

किन निरन्तर बढिरहेको छ सुनको मूल्य?

बुधबार, असोज ८ २०८२
किन निरन्तर बढिरहेको छ सुनको मूल्य?

सुनको मूल्यमा सुधार आउन सक्ने भए पनि त्यसको नकारात्मक असर सीमित हुने र यसको वृद्धि जारी रहने अपेक्षा विज्ञहरूले गरिरहेका छन्।

काठमाडौं- बढ्दै गएको भूराजनीतिक तनाव, अमेरिकी ब्याजदर थप कटौती हुने अपेक्षा र वित्तीय बजारमा छिटोछिटो भइरहेको परिवर्तनका कारण सुनको मूल्य निरन्तर बढिरहेको छ। युक्रेन र मध्यपूर्वमा भएका द्वन्द्वका साथै अमेरिका र चीनबीचको बढ्दो तनावले यस वर्ष विश्वभरका केन्द्रीय बैंकहरूले सुन खरिद बढाइरहेका छन्।

अन्तर्राष्ट्रिय बजारमा महँगिएसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर वृद्धि भइरहेको छ। यो साता लगातार उचाइतर्फ लाग्दै रेकर्डमाथि रेकर्ड बनाइरहेको सुनको मूल्य बुधबार पनि हालसम्मकै उच्च कायम भयो। गएको भदौ ८ मा १ लाख ९७ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन अहिले प्रतितोला २ लाख २३ हजार रूपैयाँ पुगेको छ। एक महिनामा नै २५ हजार ५ सय रुपैयाँले बढेको छ। 

नेपाली बजारमा मूल्यले उच्च बिन्दु छुनुको कारण अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिमात्र होइन डलरको अधिमूल्यन पनि मुख्य कारण हो। अमेरिकी डलर सूचकांकमा उल्लेख्य गिरावट आएकाले अन्तर्राष्ट्रिय खरिदकर्ताहरूका लागि सुन सस्तो भएको छ, जसले विश्वव्यापी लगानीको माग बढाएको छ।

साथै अमेरिकी फेड रेटमा भएको कटौती, बढ्दो भू-राजनीतिक जोखिम, चीनले व्यापक रुपमा गरिरहेको सुन खरिद, अर्थतन्त्रको अन्य क्षेत्रमा देखिएको अनिश्चितता जस्ता कराणले विश्व बजारमा सुनको मूल्य बढिरहेको छ। 

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

पहिलेदेखि नै सुरक्षित लगानीका रुपमा मानिएको हुँदा यो बहुमूल्य धातुले लाभ उठाइरहेको छ। निरन्तर मुद्रास्फीतिको चिन्ता र अमेरिकामा रहेका राजनीतिक जोखिमहरूले यसको मूल्य वृद्धिलाई बढावा दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। 

केन्द्रीय बैंकको सुन भण्डारबारे वर्ल्ड गोल्ड काउन्सिलको २०२५ को सर्वेक्षणअनुसार ९५ प्रतिशत केन्द्रीय बैंकरहरूले यस वर्ष विश्वव्यापी सुन भण्डारण बढ्ने अपेक्षा गरेका छन्। सुनको भाउ हालसम्मकै उच्च भए पनि यस वर्ष आफ्नो भण्डारण घट्ने अपेक्षा कुनै पनि बैंकले गरेका छैनन्।

यस वर्ष देखिएका विभिन्न नाटकीय परिवर्तनका कारण अमेरिकी डलरको मूल्यमा तीव्र गिरावट आएको छ। विदेशी मुद्राहरूको समूहको तुलनामा अमेरिकी डलरको मूल्य ट्र्याक गरेर हेर्दा उक्त सूचकांकमा सबैभन्दा बढी गिरावट गएको मार्चको सुरुदेखि जुलाईको पहिलो सातासम्म आएको थियो। उक्त समय व्यापारिक अनिश्चितता र विश्वव्यापी तनाव उच्च थियो। यसलाई पनि सुनको मूल्य बढ्ने कारणका रुपमा हेरिएको छ। 

सुनको मूल्य बढ्ने कारणको रुपमा अमेरिकी मौद्रिक नीतिलाई पनि हेरिएको छ। फेडरल रिजर्भले यस वर्ष पहिलो पटक ब्याजदर घटाउन सुरु गरेको छ। ब्याजदर २०२५ को अन्त्यसम्ममा थप दुईपटक कटौती गर्ने घोषणा भएका छन्। यस्तो मौद्रिक नीतिले सामान्यत: डलरलाई कमजोर बनाउँछ र सुनको मूल्यलाई बढावा दिन्छ।

सम्भावित आर्थिक मन्दी र मुद्रास्फीति एकैसाथ हुने चिन्ता बढिरहँदा त्यही परिदृश्यका कारणले त्यसबाट बच्नका लागि सुनको महत्त्व बढेको छ। सुनको मूल्यमा सुधार आउन सक्ने भए पनि त्यसको नकारात्मक असर सीमित हुने र यसको वृद्धि जारी रहने अपेक्षा विज्ञहरूले गरिरहेका छन्। 


प्रकाशित : बुधबार, असोज ८ २०८२११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend