शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

जनता आवास कार्यक्रम : टेम्केमैयुङका दश दलित परिवारलाई घर

बुधबार, असोज ८ २०८२
जनता आवास कार्यक्रम : टेम्केमैयुङका दश दलित परिवारलाई घर

आर्थिक अभावका कारण टहरामा पाल हालेर जीवनयापन गरिरहेका १० दलित परिवारले जनता आवास कार्यक्रममार्फत घर पाएका हुन्।

भोजपुर- टेम्केमैयुङ गाउँपालिका-९ का दलित परिवारले नयाँ घर पाएका छन्। आर्थिक अभावका कारण टहरामा पाल हालेर जीवनयापन गरिरहेका १० दलित परिवारले जनता आवास कार्यक्रममार्फत घर पाएका हुन्।

गरिबीका कारण घर बनाउन नसक्दा कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले घर निर्माण गरिदिएपछि सहज भएको स्थानीयवासी देवीचरण दर्नालले बताए। टहरामा त्रिपाल हालेर वर्षौँ कटाएको अवस्थामा घर पाउँदा आफूलाई निकै खुसी लागेको उनको भनाइ छ।

'गरिबीका कारण घर बनाउन नसक्दा पुस्तौँबाट टहरामा त्रिपाल टागेर बसेका थियौँ', उनले भने, 'बर्सात तथा जाडोको समयमा जीवनयापन गर्न कष्टकर थियो। घर बनेपछि हामीलाई सहज भएको छ।'

खुला आकाश तथा गोठ टहरामा जीवन कटाउँदै आएको अवस्थामा राज्यले घर बनाइ दिएकाले दैनिकी चलाउन सहज भएको स्थानीय फूलमाया विश्वकर्माले बताइन्। 'घर बनेसँगै अहिले दैनिकी नै फेरिएको छ', उनले भनिन्, 'गरिबीका कारण जीवन निकै कष्टकर थियो। घर बनाएर बस्न सक्ने अवस्था थिएन। राम्रो आम्दानीको स्रोत नहुँदा दैनिक ज्यालादारी गर्नुपर्ने अवस्था छ। सरकारले घर बनाइदिएपछि जीवन गुजारा गर्न सहज बनेको छ। घर पाउँदा निकै खुसी लागेको छ।'

घर नहुँदा चिसोका कारण दैनिकजसो बालबच्चा बिरामी हुने गरेको भए पनि अब त्यस्तो समस्याको अन्त्य भएको विश्वकर्माले बताइन्। सरकारले आर्थिक अवस्था कमजोर भएका घरविहीन दलित परिवारको पहिचान गरेर घर निर्माण गरिएको हो। सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाबाट आएको बजेटमार्फत विपन्न परिवारको घर निर्माण गरिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए।

एक परिवार बराबर तीन लाख ३६ हजार रूपैयाँ लगानीमा घर निर्माण भएको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ। 'राज्यको तहबाट १० दलित परिवारले नयाँ घर पाएका छन्', वडाध्यक्ष माङ्गपाहाङ्गले भने, 'आर्थिकरुपमा अतिविपन्न परिवारले घर पाएका हुन्। आर्थिक अवस्था कमजोर भएकाको घर निर्माणको लागि सिफारिस गरेको थियौँ।'

यी घर निर्माण सम्पन्न भएपश्चात पुनः अन्य तीन विपन्न परिवारको आवश्यक प्रक्रिया पूरा गरेर पठाएकोमा हालसम्म बजेट प्राप्त नभएको उनले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, असोज ८ २०८२११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend