आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

आन्दोलनमा तोडफोड र आगजनी हुँदा भाटभटेनीमा १० अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको क्षति

मंगलबार, असोज ७ २०८२
आन्दोलनमा तोडफोड र आगजनी हुँदा भाटभटेनीमा १० अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको क्षति

प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले १२ वटा स्टोर पूर्णरुपमा जलाइएको, बाँकी ९ वटामा आंशिक क्षति पुर्‍याइएको जानकारी गराएका थिए।

काठमाडौं- जेनजीको आन्दोलन भड्किँदा गएको भदौ २४ गते काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८ सय ५४ रुपैयाँबराबरको क्षति भएको देखिएको छ।

क्षतिको विवरण संकलनका क्रममा सोबराबरको क्षति भएको देखिएको हो। भाटभटेनीको वालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरुपमा आगजनी गरिएको थियो। १२ वटा भवनसहित त्यसभित्र रहेका सम्पूर्ण सामग्री जलाइएको थियो।

भाटभटेनीका १२ वटा पूर्ण क्षति भएका र आंशिक क्षति भएका नौवटा गरी १९ वटा स्टोरमा चार अर्ब ४० करोड ६ लाख ५४ हजार ६ सय ३ रुपैयाँ बराबरको क्षति भएको छ। पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार ५ सय ९६ रुपैयाँ बराबरका सामग्री पूर्णरुपमा जलाइएको छ। ४९ करोड ५७ लाख ७६ हजार ६ सय ५५ रुपैयाँबराबरका सामग्री तोडफोड र लुटपाट गरिएको छ।

स्केलेटर, लिफ्ट, फ्रिजलगायतका महंगा सामग्री पनि भवनसँगै जलेर नष्ट भएका थिए। भवनभित्र रहेका सबै सामग्री पूर्णरुपमा आगजनी गरिएको थियो। त्यसबाहेक नौ वटा स्टोरमा तोडफोड र लुटपाट गरिएको थियो। नौवटा स्टोरमा आंशिक क्षति पुगेको भाटभटेनीले जनाएको छ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले १२ वटा स्टोर पूर्णरुपमा जलाइएको, बाँकी ९ वटामा आंशिक क्षति पुर्‍याइएको जानकारी गराएका थिए। उनले भाटभटेनीमा कार्यरत दश हजारभन्दा बढी कर्मचारीलाई बिदा नगर्ने योजना रहेको बताउँदै दसैँ बोनस पनि पूरा महिनाको प्रदान गर्ने जनाएका थिए।

'सबै स्टोरमा गरी भाटभटेनीमा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँको क्षति भएको छ,' गुरुङले भने।

प्रधानमन्त्रीसँगको भेटमा गुरुङले राज्यले चाहेमा आफूले आधा सम्पत्ति प्रदान गर्न तयार रहेको पटक-पटक प्रतिवद्धता जनाउँदा पनि भाटभटेनीमाथि नै ‘टार्गेट’ गरिएको बताएका थिए।


प्रकाशित : मंगलबार, असोज ७ २०८२१९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend