काठमाडौं- अर्थमन्त्री रामेश्वरप्रसाद खनालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली गरेका छन्।
मन्त्रिपरिषद्को सोमबारको कार्यविभाजनअनुसार उहाँलाई सामान्य प्रशासन मन्त्रालयको पनि कार्यभार थप गरिएको छ।
पदबहाली गर्दै मन्त्री खनालले मन्त्रालय र अन्तर्गतका निकायको संगठन संरचनासम्बन्धी विषय मन्त्रिपरिषद् बैठकमा लैजाने फाइललाई सैद्धान्तिक सहमति दिने प्रस्ताव सदर गर्नुभएको मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले जानकारी दिए।
पदबहालीपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्दै भ्रष्टाचार न्यूनीकरण ‘जेनजी’को प्राथमिक माग भएकाले त्यसैअनुरुप काम गर्नुपर्नेमा जोड दिए।
मन्त्री खनालले कर्मचारीको आत्मसम्मानका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भ्रष्टाचार गर्ने कर्मचारीलाई भने कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे। रासस