काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालय र सम्बन्धित निकायका प्रमुखसँग मन्त्रालयका काम र आगामी प्राथमिकताका विषयमा ‘ब्रिफिङ’ लिएका छन्।
केशरमहलस्थित मन्त्रालयमा सोमबार कार्यभार सम्हालेका मन्त्री पुनले आज सचिवद्वय चूडामणि पौडेल र विश्वबाबु पुडासैनीलगायत महाशाखा प्रमुख र मातहत निकायका कामबारे जानकारी लिएका हुन्।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार उनले विज्ञान र प्रविधि क्षेत्रमा स्रोतसाधन वृद्धि गरी विद्यालयस्तरदेखि कम्प्युटर शिक्षालाई महत्त्व दिन निर्देशन दिए।
मन्त्री पुनले पदबहालीका क्रममा विज्ञान र प्रविधि क्षेत्रमा मन्त्रालयलाई सुझाव दिन विभिन्न चारवटा सल्लाहकार समिति गठनको कार्यादेश समावेश गरिएको प्रस्तावलाई स्वीकृत गरेका थिए।
यसैबीच, मन्त्री पुनको इच्छाबमोजिम उनलाई मन्त्रालयमै आवासको प्रबन्ध गर्न मन्त्रालय प्रशासनले आवश्यक तयारी गरेको छ। मन्त्री पुनले आफू जहाँ काम गर्यो, त्यहीँ बस्दै आएकाले सुत्ने खाट र भान्छाकोठाको व्यवस्था गर्न निर्देशन दिएका थिए। रासस