आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

चुनावका लागि आवश्यक कानून अध्यादेशमार्फत भएपनि संशोधन हुन्छ : मन्त्री सिन्हा

मंगलबार, असोज ७ २०८२
चुनावका लागि आवश्यक कानून अध्यादेशमार्फत भएपनि संशोधन हुन्छ : मन्त्री सिन्हा

मन्त्री अनिलकुमार सिन्हाले भ्रष्टाचार छानबिनसम्बन्धी आयोग गठनको विषय आवश्यक छलफलपछि निष्कर्षमा पुगिने बताए।

काठमाडौं- नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा आज पदबहाली गरेका छन्।

उनलाई मन्त्रालयका सचिव पाराश्वर ढुंगानासहित मन्त्रालयका उच्च पदस्थ अधिकृतले स्वागत गरे। पदबहालीपछि मन्त्री सिन्हाले कानूनलाई आमजनताले कसरी स्पष्टसँग बुझ्न सक्छन् त्यसको निर्माण प्रक्रिया, भाषा, शैलीलगायत प्राविधिक विषयमा अध्ययन गर्नेसम्बन्धी पहिलो निर्णय सदर गरे।

त्यस अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले जेनजी पुस्ताले उठाएको मूल विषय भनेकै सुशासन, भ्रष्टाचारमुक्त समाज र स्वदेशमै रोजगारीसम्बन्धी विषय भएकाले सरकारले प्राथमिकता दिएर काम गर्ने बताएका छन्।

उनले भने, 'अहिलेको तत्कालका लागि जति पनि प्रश्न उठेका छन् त्यसलाई सम्बोधन गर्दे लानुपर्नेछ। चुनावी सरकार भएकाले पहिलो प्राथमिकता चुनाव सम्पन्न गर्ने प्रतिबद्धता छ। तोकिएको समयमा चुनाव सम्पन्न गर्नुपर्ने छ। त्यसमा सम्झौता गर्न सक्दैनौँ।'

उनले चुनावका लागि आवश्यक पर्ने केही संशोधन र परिमार्जन गर्नुपर्ने भएकाले अध्यादेशमार्फत भएपनि कानूनको व्यवस्था गरिने बताए। सञ्चारकर्मीको एक प्रश्नको जवाफमा मन्त्री सिन्हाले भ्रष्टाचार छानबिनसम्बन्धी आयोग गठनको विषय आवश्यक छलफलपछि निष्कर्षमा पुगिने बताए।

सर्वाेच्चलगायतका अदालतमा भएको आगजनीबाट क्षति पुगेका मिसिलहरूलाई जस्ताको तस्तै त अवस्थामा राख्न कठिन रहेको बताउँदै उनले तथापि सकेसम्म मिसिलसम्बन्धी संकलन गरेर मुद्दा फर्छ्योटलाई अघि बढाउन पर्ने कार्यजिम्मेवारी रहेको धारणा व्यक्त गरे।

मन्त्री सिन्हाले भने, 'यो ठूलो चुनौती छ अदालतको लागि। तथापि जसरी काम सुरु गरिएको छ, कर्मचारी त्यसमा लागिपरेका छन्। दसैँपछि ट्र्याकमा ल्याउन सकिन्छ। तर पूर्णरूपमा ल्याउन धेरै नै समय लाग्छ किनकी ठूलो नोक्सानी भएको छ। हामी कोसिस गर्छौँ। सबै कुरालाई सकारात्मक रूपमा लिएर जानुपर्छ।' रासस


प्रकाशित : मंगलबार, असोज ७ २०८२१८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend