आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

रोजगारी सुरक्षित राख्न वाटरपार्कको सिँगारपटार, तस्बिर खिचेर आम्दानी

मंगलबार, असोज ७ २०८२
रोजगारी सुरक्षित राख्न वाटरपार्कको सिँगारपटार, तस्बिर खिचेर आम्दानी

वाटरपार्कमा कार्यरत १० जना फोटोग्राफर देशमै बसेर आत्मनिर्भर बन्ने उद्देश्यमा केन्द्रित छन्। उनीहरूलाई पर्यटन र फोटोग्राफीको संयोजनले नेपालभित्रै भविष्य देख्न सकिन्छ भन्ने लागेको छ।

बाँके- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ मा अवस्थित वाटरपार्क दसैँ नजिकिँदै गर्दा एक विशेष रंगमा रंगिएको छ। पानीका फोहरा, झिलीमिली बत्ती, रंगीचंगी फूल र आकर्षक सजावटले अहिले वाटरपार्क साँच्चिकै दुलहीझैँ देखिन्छ। तर, यो झिलीमिली सजावट कुनै व्यावसायिक कम्पनीले गरेको हो न त समाजका अगुवाहरुले नै गरेका हुन्।

यो त आफ्नै श्रम, लगानी र सपनाले भरिएका १० जना युवाको साझा प्रयास हो, जसको उद्देश्य मात्र पर्यटक तान्नु होइन, आफ्नो भविष्य सुरक्षित गर्नु पनि हो। ती युवाहरू फोटोग्राफर हुन्, जसले क्यामेराको माध्यमबाट आम्दानीसँगै आत्मसम्मान र स्वदेश प्रेम कमाइरहेका छन्। यी सबै युवाहरू वाटरपार्कमा बोटिङ गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको फोटो र भिडियो खिच्ने गर्छन्। उनीहरूको आम्दानी सोही फोटो तथा भिडियो सेवाबाट हुन्छ।

चाडपर्वको समयमा बढी पर्यटक आउँछन् भन्ने विश्वासले उनीहरूले आफ्नै खर्चमा वाटरपार्कलाई सजाएका हुन्। उनीहरूको बुझाइमा सजावटले पर्यटक तान्छ, पर्यटकले खुसी अनुभव गर्छन्, रमाइलो गर्छन् र त्यसबाट फोटो खिचाउने इच्छाशक्ति बढ्छ। अनि त्यही बाटो हुँदै उनीहरूको आम्दानी बढ्छ। सजावट, कमाइ र भविष्यबीच उनीहरूले स्पष्ट सम्बन्ध देखेका छन्।

जाजरकोटको कुशेगाउँपालिका-७ का २३ वर्षीय दिनेशसिंह ठकुरी भन्छन्, 'हामीले पर्यटकलाई खुसी पार्न, रमाइलो दिन र आफ्नो रोजगारी सुरक्षित गर्न वाटरपार्कलाई दुलहीजस्तै सजाएका हौँ।'

दिनेशले आठ महिनादेखि फोटोग्राफी गर्दै आएका छन्। प्लस टूको पढाइ सकेपछि उनले वैदेशिक रोजगारीको विकल्पमा स्वदेशमा नै सीपमार्फत आत्मनिर्भर हुने बाटो रोजे। दिनेशको दैनिक आम्दानी सामान्य अवस्थामा सात-आठ सय रूपैयाँ रहन्छ भने चाडपर्वको समयमा हजारदेखि १२ सय रूपैयाँसम्म पुग्ने गरेको छ। 'म यो काम केवल पैसा कमाउनका लागि गर्दिनँ, म आफ्नो आत्मसम्मानका लागि गर्छु। विदेश जानुभन्दा आफ्नै देशमै केही गर्नु आवश्यक छ भन्ने सोचले मलाई यहाँ ल्याएको हो,' उनले भने।

त्यस्तै, बाँकेको खजुरा गाउँपालिका-७, गुन्हानाका २३ वर्षीय मुजम्मिल खान पनि एक वर्षदेखि फोटोग्राफी गर्दै आइरहेका छन्। सुरुमा मोबाइलबाट फोटो खिच्ने मुजम्मिल अहिले क्यामेरा चलाउने भइसकेका छन्। उनी भन्छन्, 'हामीले वातावरण राम्रो बनायौँ भने फोटो राम्रो आउँछ, फोटो राम्रो आयो भने पर्यटक खुसी हुन्छन्, अनि पर्यटक खुसी भए भने हामीले काम पाउँछौँ। त्यसैले हामीले यो सजावट गरेका हौँ।'

मुजम्मिलको आम्दानी पनि दिनेशको जस्तै दिनमा आठदेखि नौसय रूपैयाँसम्म हुने गरेको छ। चाडपर्व र केही विशेष अवसरमा भने त्यो रकम हजारदेखि १२ सय रूपैयाँसम्म पुग्ने गरेको छ। उनका लागि यो आम्दानीले परिवार धान्न र भविष्य निर्माण गर्न ठूलो टेवा दिएको छ।

'घरमा आमा, बुबा, दुई बहिनी छन्। मैले कमाएको पैसाले घरको खर्च, बहिनीको पढाइ, आमाको उपचार, सबै चलेको छ,' उनले भने, 'काम गर्दा सम्मान पाइन्छ। यहाँ घुम्न आउने पर्यटकले फोटो खिचिदिएबापत पैसामात्र दिँदैनन्, धन्यवाद दिन्छन् र रमाउँछन् पनि। त्यो नै सबैभन्दा ठूलो सन्तुष्टि हो।'

त्यसैगरी, जुम्लाको गुठीचौर गाउँपालिका-४, खललावडाका २४ वर्षीय सर्जन नेपालीले भने दुई वर्षदेखि क्यामेरा चलाउँदै आइरहेका छन्। सुरुमा उनले फोटो खिचेर पैसा कमाउन सकिन्छ भन्ने कल्पना पनि गरेका थिएनन्। तर, जब उनले पहिलो दिन तीनसय रूपैयाँ कमाए। त्यसदिन उनी खुसीले रुँदै भाडामा बसेको कोठामा पुगेको बताए।

'फोटो खिचेर पनि पैसा कमाइन्छ भन्ने मैले सोचेकै थिएन। जुनदिन मैले पहिलोपटक तीनसय कमाएँ, त्योदिन मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धिजस्तो लाग्यो। त्यो तीनसय रूपैयाँ समातेर म खुसीले रुँदै कोठामा पुगेको छु,' उनले सम्झँदै भने, 'दोस्रो दिनको मेरो कमाई हजार रूपैयाँ भयो र त्यही दिन मैले निर्णय गरेँ, विदेश जानु पर्दैन। अब देशमै केही गर्न सकिन्छ।'

अहिले सर्जनको कमाइ मासिक ३० हजारभन्दा माथि नै हुने गरेको छ। 'त्यो पैसाले कोठा भाडा, खाना खर्च, कपडा, फोन खर्च, अनि घरमा आमालाई पैसा पठाउने काम सबै गरेको छु,' उनी भन्छन्, 'यसले मलाई आत्मनिर्भर बनाएको छ।'

नेपालगञ्ज बाँके-२, पुरैनाका २१ वर्षीय विजय मिश्र पनि एक वर्षदेखि फोटोग्राफीमा सक्रिय छन्। पाँच जनाको परिवार, प्लस टू सकेर पढाइ छोड्नु परेको अवस्था, आर्थिक अभावले उनलाई धेरै चाँडै जीवनसँग जुध्न सिकायो। जब उनले क्यामेरा चलाउन सुरु गरे, तब उनलाई लाग्यो, जीवन फेरि पनि नयाँ ढंगले सुरु गर्न सकिन्छ।

'सुरुमा लाज लाग्थ्यो, तर आज म यो कामप्रति गर्व गर्छु,' विजय भन्छन्, 'हाल मेरो दैनिक आम्दानी नौ सयदेखि एक हजारसम्म पुग्ने गर्छ। यसले नै मेरो सबै घर खर्च र दैनिकी चलेको छ।' पढाइ रोकिए पनि सपना नरोकिएको विजय बताउँछन्। 'म अनलाइनबाट फोटोग्राफीसम्बन्धी कोर्स गर्दैछु। म चाहन्छु, एकदिन मेरो फोटोले देशको कथा सुनाओस्।'

यी चारजना युवामात्र होइन, वाटरपार्कमा कार्यरत १० जना फोटोग्राफर देशमै बसेर आत्मनिर्भर बन्ने उद्देश्यमा केन्द्रित छन्। उनीहरूलाई पर्यटन र फोटोग्राफीको संयोजनले नेपालभित्रै भविष्य देख्न सकिन्छ भन्ने लागेको छ। उनीहरू भन्छन्, 'पर्यटकलाई सेवा दिँदा, हाँसीखुसी फोटो खिच्दा, रमाइला क्षण टिप्दा, हामी पैसा मात्र होइन, आत्मसम्मान कमाइरहेका हुन्छौँ।'

सजावटमा उनीहरूले प्रयोग गरेका फूल, बत्ती, रंग किन्न उनीहरूले आफ्नै आम्दानी प्रयोग गरेका हुन्। 'कोही कम्पनीले सहयोग गरेको होइन। कुनै समाजका अगुवाहरुले यो सजाएका होइनन्। हामीले बेलुकी काम सकेर, पसलहरूमा पुगेर लाइट, सजावट सामग्री किनेका हौँ,' दिनेशले भने।

यसरी उनीहरूले वाटरपार्कको सौन्दर्यमा आफ्नो पसिना मिसाएका छन्। पर्यटकको सङ्ख्याले उनीहरूको मेहनतको मूल्यांकन गर्छ-जति बढी पर्यटक, उति बढी सम्भावना। नेपालका कैयौँ युवाहरु विदेश जान लाइनमा छन्। तर नेपालगञ्जमा नै भविष्य देखेका यी युवाहरूले भने आम्दानीको बाटो वाटरपार्क र नेपालगञ्जमा रहेका अन्य पर्यटकीय स्थललाई रोजेका छन्।

उनीहरूको बाटो भने पक्कै सजिलो छैन। गर्मीमा घाम, जाडोमा शीत, अनि वर्षामा खाल्डाखुल्डी र चिप्लो बाटो। तर, यी सबै कठिनाइहरूमाथि उनीहरूको जोस भारी छ। 'जब एक जना पर्यटकले भन्छ, ‘वाह, धेरै राम्रो फोटो आएको छ,’ तब हामी सबै दुःख बिर्सन्छौँ,' मुस्कुराउँदै मुजम्मिलले भने। यी युवाहरूलाई हेर्दा लाग्छ-देशमा केही गर्न सकिन्छ भन्ने भनाइ केवल नारा होइन, व्यवहारमा उतार्न सकिने सत्य पनि हो।

उनीहरूले प्रमाणित गरेका छन्, कि वैदेशिक रोजगारी नै एक मात्र विकल्प होइन। सीप, प्रतिबद्धता र स्वदेश प्रेमले पनि मानिसलाई आत्मनिर्भर बनाउँछ। 'हामी पैसा कमाइरहेका छौँ, तर त्यो पैसासँगै हामीले हाम्रो आत्मसम्मान पनि कमाइरहेका छौँ। हामी काम गरिरहेका छौँ, तर त्यो काममा माया, सम्मान र देश प्रेम मिसिएको छ,' दिनेशको यो भनाइमा ती सबै युवाको आवाज समेटिएको छ।

आजका जेन्जी पुस्ताका लागि पनि यी चार युवाको उदाहरणले राम्रै प्रेरणा दिनसक्ने पार्कमा घुम्न आउनु जो कोही पनि भन्ने गर्दछन्। आज उनीहरूको सजावटले वाटरपार्क झलमल देखिएको छ। पर्यटक रमाइरहेका छन्। फोटो खिचिरहेका छन्। अनि ती फोटोभित्र यी युवाहरूको मेहनत, सपना र स्वाभिमान पनि कैद भइरहेको छ। रासस 


प्रकाशित : मंगलबार, असोज ७ २०८२१४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend