बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

‍१९ अक्टोबरदेखि बुद्ध एयरको काठमाडौं-कोलकाता सिधा उडान

एकतर्फी भाडा १३ हजार ३५३ रूपैयाँ, पर्यटकीय र धार्मिक प्याकेज पनि

मंगलबार, असोज ७ २०८२
‍१९ अक्टोबरदेखि  बुद्ध एयरको काठमाडौं-कोलकाता सिधा उडान

कोलकाता उडान एटीआर-७२ जहाजबाट हुनेछ। यस रुटको उडान अवधि लगभग एक घण्टा ३५ मिनेटको रहनेछ।

काठमाडौं- बुद्ध एयरले काठमाडौं-कोलकाता सिधा उडान सुरु गर्ने भएको छ। कम्पनीले अन्तर्राष्ट्रियतर्फको दोस्रो उडान भारतको पश्चिम बंगालको राजधानी कोलकातातर्फ १९ अक्टोबारबाट पुनः सुरु गर्न लागेको हो।

कम्पनीले अहिले सुरुमा साताको तीनदिन आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन गर्नेछ। काठमाडौंबाट बिहान ७ बजे र कोलकाताबाट स्थानीय समय ९:२० बजे उडान हुनेछ।

कोलकाता उडान एटीआर-७२ जहाजबाट हुनेछ। यस रुटको उडान अवधि लगभग एक घण्टा ३५ मिनेटको रहनेछ। एकतर्फी भाडा १३ हजार ३५३ रूपैयाँ तोकिएको छ। घुम्न रुचाउनेका लागि पर्यटकीय र धार्मिक प्याकेज पनि कम्पनीले ल्याएको छ।

यात्रुको सहजताका लागि बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरुको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरु पनि सञ्चालन गरिरहेको जनाएको छ।

नेपाली यात्रुहरुलाई कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन्। यी प्याकेजहरु बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले सञ्चालन गरिरहेको कम्पनीको भनाइ छ।

कोलकाता उडानमार्फत भारतीय धार्मिक तथा पर्यटकीय यात्रु नेपाल भित्रिने, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बुद्ध एयरको विश्वास छ।

यसअघि बुद्ध एयरले २०७६ को बैशाख २ बाट कोलकाता उडान भरेको थियो। पछि कोभिड महामारीका कारण मंसिर १६ बाट उडान तत्कालको लागि स्थगन गरिएको थियो। अहिले पुन: उडान थाल्न लागेको हो।

बुद्ध एयरले देशका विभिन्न भागमा दिनहुँ ६ दर्जनभन्दा बढी उडान भरिरहेको छ। अन्तर्राष्ट्रियतर्फ बुद्ध एयरले भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रबार उडान भरिरहेको छ।


प्रकाशित : मंगलबार, असोज ७ २०८२१४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend