आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

काभ्रेमा दसैँभर टिपर सञ्चालनमा रोक

मंगलबार, असोज ७ २०८२
काभ्रेमा दसैँभर टिपर सञ्चालनमा रोक

कार्यालयद्वारा प्रकाशित सार्वजनिक अपिलमा यही असोज ६ देखि असोज २२ गतेसम्म टिपर सञ्चालन नगर्न भनिएको हो।

काभ्रेपलाञ्चोक- जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँभर जिल्लामा मालवाहक सवारीको साधन टिपर सञ्चालनमा रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको गत भदौ ३० गतेको निर्णयानुसार दसैँभर जिल्लामा टिपर सञ्चालनमा रोक लगाएको जनाइएको छ।

कार्यालयद्वारा प्रकाशित सार्वजनिक अपिलमा यही असोज ६ देखि असोज २२ गतेसम्म टिपर सञ्चालन नगर्न भनिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठद्वारा जारी अपिलमा यात्रु तथा सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमन सुनिश्चित गर्न टिपर सञ्चालन रोक लगाइएको उल्लेख गरिएको छ।

यस अवधिभर टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लंघन गरेको पाइएमा कानूनबमोजिम कडा कारबाही गरिने श्रेष्ठले बताए। उनका अनुसार अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारीसाधनलाई भने यो नियम लागु हुने छैन।

काभ्रेपलाञ्चोकस्थित तीन राजमार्ग अरनिको, बीपी र हेलम्बु तथा पनौती-बनेपा सडकखण्डबाट दैनिक करिब दुई हजार ५ सय टिपर संघीय राजधानी काठमाडौंलगायतका स्थान आवतजावत गर्छन्।

स्थानीय प्रशासनले दुई वर्षदेखि सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमनका लागि राति मात्रै सञ्चालन गर्न अनुमति दिँदै आएको थियो। रासस


प्रकाशित : मंगलबार, असोज ७ २०८२१२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend