काठमाडौं- पृथ्वी राजमार्गको जवाङ खोलामा सुक्खा पहिरो जाँदा सवारीसाधन सडकमा नै रोकिएका छन्। नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) का अनुसार पहिरो पन्छाउन मंगलबार अबेरसम्म लाग्ने छ।
बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० को जवाङ खोलामा सोमबार मध्यराति सुक्खा पहिरो खसेको थियो। बिहानपख पहिरो पन्छाएर बाटो एकतर्फी खोल्ने प्रयास गरेपनि पुनः ठूलो पहिरो खसेको थियो।
थप पहिरो नआएमा उक्त खण्डमा राजमार्ग खोल्न करिब ५ घण्टाको समय लाग्ने अनुमान रहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
उक्त मार्गबाट गोरखा, लम्जुङ, पोखरा आदितर्फ जाने साना तथा मझौला सवारी साधनहरुले मलेखु (फुर्केखोला) धादिङवेशी-आरुघाट-मध्यपहाडी राजमार्ग, गोरखा बजार हुँदै १२ किलोबाट पोखरातिर वा आँबुखैरेनीतर्फ जान सकिन्छ।
साथै मध्यपहाडी राजमार्ग हुँदै डुम्रे तथा उपयुक्त बैकल्पिक बाटो प्रयोग गरी यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।
काठमाडौंबाट पश्चिमतर्फ जाँदै जाने यात्रुले नौबिसेबाट हेटौँडा निस्किएर जान सकिन्छ। पूर्वतिरबाट काठमाडौं आउनेहरुले पनि यही बाटो प्रयोग गर्न सक्छन्।
अन्य स्थानतर्फ जाने ठूला तथा साना सबै सवारी साधनहरुले सुरक्षा निकायहरुसँग समन्वय तथा निर्देशनमा लेन अनुशासन कायम गरी अन्य बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ।