आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

आफूसँगै अरुलाई पनि आत्मनिर्भर बनाउँदै उद्यमी तारादेवी, झोला उद्योगबाट १८ महिलालाई नियमित रोजगारी

मंगलबार, असोज ७ २०८२
आफूसँगै अरुलाई पनि आत्मनिर्भर बनाउँदै उद्यमी तारादेवी, झोला उद्योगबाट १८ महिलालाई नियमित रोजगारी

२०७६ सालदेखि स्थानीयमा उपलब्ध हुने कच्चा पदार्थ ढाका, अल्लोलगायतबाट झोला बनाउन तारादेवीले उद्योग खोलेकी हुन्।

झापा- बुद्धशान्ति गाउँपालिका-३ प्रगतिटोल पुग्दा एउटा महिलाको संघर्ष र सफलताले भरिएको कथा भेटिन्छ। नम्र  स्वभाव, अनि आत्मविश्वासले भरिपूर्ण अनुहार। आफ्नै घरको भुइँतलामा चलिरहेको सानो तर व्यस्त कार्यशालामा कपडाको थुप्रो, रंगीचंगी धागा, काट्न प्रयोग गरिने कैची र सिलाइ मेसिनको निरन्तर आवाजले उद्योगको जीवन्तता झल्काउँछ।

यही ठाउँ हो शीतला झोला उद्योग, जसको नाम अहिले बुद्धशान्तिमात्र होइन, कोशी प्रदेशका विभिन्न जिल्लासम्म परिचित भइसकेको छ। यस उद्योगकी सञ्चालक हुन् तारादेवी अधिकारी। उनी सामान्य गृहिणीमात्र नभएर, संघर्ष र सीपलाई आधार बनाउँदै आत्मनिर्भर बन्न खोज्ने अनि अरु महिलालाई पनि त्यसै मार्गमा डोहोर्‍याउने उद्यमी हुन्।

आजभन्दा करिब १२ वर्षअघि तारादेवीले घरेलु तथा साना उद्योगको समन्वयमा सिलाइकटाइ तालिम लिएकी थिइन्। तालिमपश्चात आफ्नै मेसिन नभएकाले उनले केही वर्ष मेसिन भाडामा लिएर कपडा सिलाउने काम गरे त्यही क्रममा एक दिन उनले उत्सुकतावश सिलाइको कपडाबाट बाँकी रहेको कपडाबाट तीनवटा सामान्य सुर्की झोला बनाएर आफ्नै पसलमा राखिन्। ती झोला तुरुन्तै बिक्री भए।

निरन्तर एक सातासम्म तारादेवीले दिनमा तीन-चारवटा झोला बनाएर पसलमा राख्दा पनि माग बढ्दै गयो। यही सफलताले उनलाई झोला उत्पादनलाई उद्यमका रूपमा अगाडि बढाउने प्रेरणा दिएको तारादेवी स्मरण गर्छिन्। त्यसपछि २०७६ सालदेखि स्थानीयमा उपलब्ध हुने कच्चा पदार्थ ढाका, अल्लोलगायतबाट झोला बनाउन तारादेवीले उद्योग खोलिन्।

हाल उनले सञ्चालन गर्दै आएको उद्योगबाट विभिन्न आकार, प्रकार र डिजाइनका झोला उत्पादन हुने गरेका छन्। मूल्य दायरा ५० रूपैयाँदेखि तीन हजार ५ सय रूपैयाँसम्मको छ। सस्तो मूल्यका झोलादेखि उच्च गुणस्तरका डिजाइनर झोलासम्म यहाँ उपलब्ध हुन्छन्। झोलाका लागि चाहिने कच्चा पदार्थ काठमाडौँ, भारतको सिलुगुडीबाट आउने गरेको तारादेवी बताउँछिन्।

उद्योगमा अहिले १८ महिलाले नियमित रोजगारी पाएका छन् भने थप १५ जना आंशिकरूपमा संलग्न छन्। उनीहरू आ-आफ्नो घरधन्दा सकेर दिउँसो केही घण्टा उद्योगमा काम गर्न आउँछन्। दक्षताका आधारमा महिलाले मासिक २० हजार रूपैयाँदेखि ३० हजार रूपैयाँसम्म कमाइ गर्ने गरेका छन्। यसरी घरपरिवार चलाउनेमात्र होइन, आफ्नै श्रमबाट आर्थिकरूपमा सशक्त बन्न पाउँदा उनीहरूले गर्व र खुसी अनुभव गर्ने गरेको तारादेवी बताउँछिन्।

शीतला झोला उद्योगको उत्पादन अहिले झापा जिल्लामै सीमित छैन। कोशी प्रदेशका अधिकांश पहाडी जिल्लामा मात्र होइन, सुदूरपश्चिमको कञ्चनपुरसम्म झोलाको माग पुग्छ। भीमदत्त नगरपालिकाबाट नगरसभाका सदस्यहरूलाई वितरण गर्नका लागि गत असारमा मात्र ११० झोलाको माग आएको थियो, जुन तारादेवीले चार दिनभित्र तयार गरेर पठाइन्। कोभिड-१९ का कारण देशभर बन्दाबन्दी भयो त्यही समयमा आफ्नो झोला उद्योगले राम्रो बजार पाएको तारादेवी बताउँछिन्।

यसका अतिरिक्त उद्योगका झोला बुद्धशान्ति गाउँपालिकाले आफ्ना सामुदायिक विद्यालयका विद्यार्थीलाई वितरण गरेको छ। त्यसबाहेक सङ्खुवासभाको खाँदबारी, इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुरलगायत जिल्लामा पनि झोला पुग्ने गरेको छ। झोला उत्पादनमात्र नभइ तारादेवी तालिम दिने काममा पनि सक्रिय छिन्। स्थानीय तह, सामुदायिक संस्थाले माग गरेअनुसार उनले महिलालाई झोला सिलाइ तालिम दिन्छिन्। यसरी तालिम पाएका महिलाले पनि आफ्नै क्षेत्रमा सानो स्तरमा भए पनि झोला उत्पादन सुरु गर्ने अवसर पाएका छन्।

'तालिमले महिलालाई सीप दिन्छ, सीपले आत्मबल बढाउँछ, आत्मबलले रोजगारी र आयआर्जन ल्याउँछ', तारादेवीले भनिन्। उनले झोला उत्पादन सुरु गरेको केही वर्षमै यसैबाट भएको नाफाले बुद्धशान्ति-३ प्रगति टोलमै जग्गा किनिन् र तीनतले घर पनि निर्माण गरिन्। हाल उद्योग सोही घरको भुइँतलामा सञ्चालन भइरहेको छ। उद्योगबाट खर्च कटाएर वार्षिक करिब १५ लाख रूपैयाँ नाफा हुने गरेको उनले बताइन्।

यतिमात्र होइन, आफ्ना उत्पादनलाई बजारसम्म पुर्‍याउन तारादेवीले नयाँ पुस्ताले प्रयोग गर्ने प्रविधि आत्मसात गर्ने गरेकी छिन्। फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका साथै स्थानीय मेला हाटबजारमार्फत प्रचारप्रसार गर्दै उनले बजार विस्तार गरिरहेकी छिन्।

शीतला झोला उद्योग केवल एक व्यावसायिक उपक्रममात्र होइन, यो महिलालाई आत्मनिर्भर र सशक्त बनाउन बनाइएको एक खम्बा हो। यहाँ काम गर्ने महिलाले आफ्नो परिवार चलाउनमात्र होइन, समाजमा आर्थिक रूपमा योगदान गर्न पाउँछन्।

धेरै महिलाले उद्योगबाट कमाएको पैसाले छोराछोरीको शिक्षा, स्वास्थ्य र घरधन्दा चलाइरहेका तारादेवी बताउँछिन्। उनी भन्छिन्, 'मलाई सबैभन्दा ठूलो सन्तुष्टि महिलालाई सीप सिकाएकामा छ, आत्मबल दिएको छ, आम्दानीको बाटो देखाएको छ।'

तारादेवीको योजना अझ ठूलो छ। आगामी दिनमा देशका विभिन्न स्थानमा तालिम सञ्चालन गर्दै महिलालाई रोजगारी सृजना गर्ने वातावरण बनाउन उनी चाहन्छिन्। साथै, उत्पादनलाई अझ गुणस्तरीय र आकर्षक बनाउन नयाँ प्रविधि र डिजाइनमा लगानी गर्ने तयारी पनि छ।

तारादेवीको कथा केवल व्यक्तिगत सफलताको कथा होइन। यो कथा हो- संघर्षबाट उद्यमिता जन्मिन सक्ने, सीपलाई प्रयोग गरेर समाज परिवर्तन गर्न सक्ने र महिलाले पनि ठूलो योगदान दिन सक्ने प्रमाण। झापाको एउटा सानो गाउँबाट सुरु भएको उनको यात्रा आज महिलाको आत्मनिर्भरता, श्रमको सम्मान र सफलताको प्रतीक बनेको छ। तारादेवीको दृढता र लगनशीलताले देखाएको बाटो अरू महिलाका लागि प्रेरणादायी बन्न पुगेको छ। रासस


प्रकाशित : मंगलबार, असोज ७ २०८२११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend