बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए, ५० लाख ७१ हजार रुपैयाँ सलामी दस्तुर संकलन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज ७ २०८२
धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए, ५० लाख ७१ हजार रुपैयाँ सलामी दस्तुर संकलन

पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकअनुसार गोरखामा रहेको (आठ हजार १६३ मिटर अग्लो) मनास्लु हिमाल आरोहणका लागि तीन सय ७४ जनाले अनुमति लिएका छन्।

म्याग्दी- सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन्। विश्वको सातौँ (८ हजार १ सय ६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्दछ। 

पर्यटन विभागका अनुसार धवलागिरि आरोहणको अनुमति लिएकाबाट ५० लाख ७१ हजार रुपैयाँ सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ। शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले प्रतिआरोही नौ सय डलर सलामी दस्तुर तिर्नुपर्छ। अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ।

विभागले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकअनुसार गोरखामा रहेको (आठ हजार १६३ मिटर अग्लो) मनास्लु हिमाल आरोहणका लागि तीन सय ७४ जनाले अनुमति लिएका छन्।

शरदयामका आरोहीहरूको रोजाइमा मनास्लु हिमाल पर्ने गरेको छ। आरोहण अनुमति लिनेको सङ्ख्यामा धवलागिरि दोस्रो स्थानमा रहेको छ। आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि-४ का वडासदस्य हरिप्रसाद तिलिजाले बताए।

यसपालि आरोहण टोली  मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविरतर्फ गएका छन्। धवलागिरि गाउँपालिकाको मुदी बगर हुँदै जाने पदमार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन्।

गत वसन्तयाममा दुई समूहका १५ जनाले आरोहण अनुमति लिएबापत ३६ लाख ९१ हजार राजस्व संकलन भएको थियो। सन् २०२४ को शरदयाममा एउटा समूहका १४ पुरुष पर्वतारोहीले आरोहणको अनुमति लिएकामा रुसका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो। छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणका लागि चुनौती बन्ने गर्छ।

अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ। सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गरेका थिए। डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए। रासस


प्रकाशित : मंगलबार, असोज ७ २०८२१०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend