काठमाडौं- देशमा मनसुनी वायुको प्रभाव केही कमजोर बनेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार स्थानीय वायुको आंशिक प्रभाव देखिने भएकाले अधिकांश भू–भागमा आंशिकदेखि साधारण बदली मात्र रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली हुने छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, कोशी र बागमती प्रदेशको पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति पनि देशको पहाडी भू–भागमा साधारण बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली हुनेछ। राति पनि पहाडी भू–भागका थोरै स्थानमा र तराईका एक–दुई स्थानमा मध्यम वर्षा पर्न सक्ने अनुमान गरिएको छ। रासस