गण्डकी- वरिपरिबाट जंगलले घेरिएको गुजुमुज्ज परेको बस्ती, ढुंगैढुंगाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका गुरुङ समुदायको धार्मिक आस्थाका पवित्र कोइबोहरु। कास्कीको पर्यटकीय गाउँ सिक्लेस पुग्ने जोकोहीलाई पनि त्यहाँका प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासले लोभ्याउँछ।
गुरुङ समुदायको बाहुल्य रहेको सिक्लेस सांस्कृतिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ। सिक्लेसको परिचय त्यतिमा मात्रै सीमित छैन, यो राजनीतिक रुपमा ऐतिहासिक थलो पनि हो। नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रुपमा पनि सिक्लेसलाई लिइन्छ।
पर्यटन राजधानी पोखराको काहुँखोलादेखि ३७ किलोमिटर दुरीमा रहेको यो ठाउँ समुद्री सतहबाट करिब एक हजार ९५० मिटरको उचाइमा छ। केही वर्षयता आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्न थालेपछि सिक्लेसमा घरबास र होटेलहरुको सङ्ख्या बढ्न थालेको छ।
प्रकृति र संस्कृतिको धनी सिक्लेसमा स्थानीयको न्यानो आतिथ्यताले पर्यटकलाई लोभ्याउने गरेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत रहेको यो गाउँ मादी गाउँपालिकाको वडा नं १ मा पर्दछ। सिक्लेस प्रवेश गर्दा तातो चिया र मकै भटमासले स्वागत गर्ने यहाँको चलन छ। बेलुका होटेल तथा घरबास सञ्चालकले मीठो परिकारको स्वाद चखाउँछन्।
त्यसैगरी, टीका र फूलले बिदाइ गर्ने परम्परा छ। सिक्लेसमा एक पटक आउने पर्यटक दोहोर्याएर आउने गरेको साजन इन्द्रेणी गेष्ट हाउसका सञ्चालक लिलिमाया गुरुङको अनुभव छ। गुरुङ गाउँका रुपमा आफ्नै विशिष्ट मौलिकता बोकेको सिक्लेस प्रकृति र संस्कृतिका जीवन्त पक्ष हेर्ने बुझ्ने थलो पनि भएको उनको भनाइ छ।
पछिल्लो दश वर्षदेखि सिक्लेसमा होटल सञ्चालन गरिरहेकी उनले सुरुमा घरबासस ‘होमस्टे’ सुरु गरेकी थिइन्। हाल सिक्लेसमा २८ वटा होटल तथा ३६ वटा घरबासले पर्यटकलाई सेवा दिइरहेका छन्।
सिक्लेसमा अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले सञ्चालन गरिरहेको इको म्युजियम र यहाँ बनाइका कोइबोहरू अनुसन्धानकर्ताका लागि गन्तव्य बन्दै गएको मादी गाउँपालिका-१ का वडाअध्यक्ष बताउँछन्।
इको म्युजियममा विशेषतः सांस्कृतिक सम्पदा र परम्पराका साथै गुरुङ समुदायको जीवनशैली (अन्य जातीय अल्पसङ्ख्यकहरूसहित) आदिलाई जीवन्त रुपमा चित्रण गर्नेगरी सामग्री राखिएका छन्। विशेषतः गुरुङ समुदायको रहनसहनलाई संग्रहालयमा देखाउने प्रयास गरिएको उनको भनाइ छ।
गुरुङ सभ्यताको विशिष्टस्थलका रुपमा विकसित संग्रहालय गुरुङ सभ्यताको जानकारी राख्न चाहने जो कोहीका लागि उपयोगी बन्दै गएको छ। संग्रहालयमा गुरुङ संस्कृतिका साथै पर्यावरणीय अध्ययन तथा सिक्लेस क्षेत्रमा पाइने विभिन्न जडीबुटी राखिएको छ।
संग्रहालयमा सिक्लेस क्षेत्रमा पाइने जडीबुटीहरु कुट्को, कुरिलो, सतुवा, विष, नीलोविष, जटामसी, सिल्टिमुर, पाँचऔँले, यार्सागुम्बाबारे जानकारी एवम् अवलोकन गर्न सकिन्छ। साथै गुरुङ संस्कृतिका वेशभूषा, संस्कृतिका साथै रहनसहनका हरेक पक्षलाई जीवन्त चित्रण गर्ने किसिमका सामग्री प्रदर्शनमा राखिएको छ। संग्रहालयमा गुरुङ समुदायको मौलिक पोसाक राखिएको छ। साथै पर्यटकहरु उक्त पोसाकमा सजिएर तस्बिर खिच्ने गरेका छन्। संग्रहालय प्रवेश गर्ने बित्तिकै गुरुङ धर्मगुरु पत्यु, ल्हेउरी र बन्पोलमको प्रतिमा देख्न सकिन्छ।
विसं २०७१ देखि सञ्चालनमा आएको संग्रहालय यहाँ पर्यटकको ‘बलेट लिस्ट’मा छुटाउने नहुने गन्तव्य भएको छ। संग्रहालयमा प्रवेश शुल्कबापत नेपाली सर्वसाधारणका लागि ५०, विद्यार्थीका लागि ३० र विदेशी पर्यटकका लागि एक सय ५० निर्धारण गरिएको छ।
पर्यटकको सुरक्षाका लागि विभिन्न ६४ स्थानमा सीसीटीभी जडान गरिएको छ। सिक्लेसलाई सांस्कृतिक ग्रामका रुपमा विकास गर्नेगरी व्यवस्थित सिँढी, बाटो, सडक बत्तीको व्यवस्था पनि भइसकेको छ।
सिक्लेसमा संग्रहालयसँगै शान्ति स्मारक, सिक्लेस पार्क पनि निर्माण गरिएको छ। यहाँबाट देखिने विभिन्न हिमालको दृश्यावलोकन पर्यटक आकर्षित गर्ने माध्यम हुन्। रासस
