काठमाडौं- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले तत्काल शिक्षा नि:शुल्क गर्न नसकिने बताएका छन्।
सोमबार पद तथा गोपनियताको शपथ लिइ शिक्षा मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेक्रममा मुलुक विदेशी सहयोगमा चलिरहेको उल्लेख गर्दै मन्त्री पुनले अर्थतन्त्र मजबुत नभएसम्म शिक्षा नि:शुल्क गर्न नसकिने बताएका हुन्।
'मुलुकको अर्थतन्त्र बलियो नबनाइ शिक्षा नि:शुल्क गर्न सकिँदैन। यो कठिन छ', मन्त्री पुनले भने।
यस्तै, उनले मन्त्रालयमा रहँदा यहाँका सुरक्षा, सेवासुविधा लिए पनि बाहिर भने नलिने बताए। उनले भने, 'मलाई मन्त्रालयभित्र रहँदा, यहाँको कामकाजले बाहिर निस्कँदा मात्रै गाडी र सुरक्षागार्डको सुविधा दिए हुन्छ। व्यक्तिगत कामका लागि म सरकारी गाडी र सुविधा प्रयोग गर्दिनँ।'
मन्त्री पुनले जेनजीका भ्रष्टाचारमुक्त मुलुकको चाहनाबमोजिम नै मन्त्रालयमा सुशासन कायम गर्न आफू सक्रिय रहने पनि उनले बताए। 'समित बनाएर हुन्छ या छानबिन गरेर, सुशासन ल्याउन मेरोतर्फबाट सक्दो प्रयास गर्छु। नाममात्रकाे समिति नहाेस्, समितिमा बस्न रहर गर्ने तर काम नगर्नेलाई नराखी सक्षमलाई स्थान दिएर सक्रिय समिति बनाउनुपर्छ', उनले भने।
विज्ञान मन्त्रालयले अपेक्षाकृत काम गर्न नसकेको उल्लेख गर्दै उनले ६ महिनामा उल्लेख्य परिवर्तन तथा प्रगति ल्याउन नसके पनि सक्दो प्रयास भने गर्ने बताए। 'मैले भनेकै हुनुपर्छ भन्ने छैन। विज्ञको सुझावअनुसार अगाडि बढ्ने हो।'
उनले आफूलाई छुट्टै मन्त्री क्वार्टर नचाहिने पनि बताए। उनले भने, 'मलाई क्वार्टर चाहिँदैन। मन्त्रालयमै खाट, टेबलकुर्सी र किचेन राखिदिए हुन्छ। म यहीँ बस्छु, आफै पकाएर खान्छु। म जहाँ काम गर्यो त्यहीँ बस्ने हो। यसअघि पनि राष्ट्रिय आविष्कार केन्द्रमै बसिरहेको थिएँ।'