काठमाडौं- नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा; सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र कृषिमन्त्री डा. मदन परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिन्हाले उद्योगसहित कानून र भूमि मन्त्रालय पनि सम्हाल्ने छन्।
भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले गरेको आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो। जसमा यसअघि अर्थमन्त्री रामेश्वर खनाल, परराष्ट्रमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ नियुक्त भइसकेका छन्।
स्वास्थ्यमन्त्रीमा संगीता कौशल मिश्राको नाम सिफारिस भएपनि विभिन्न विवादित विषयहरू बाहिरिएसँगै उनको शपथ भने रोकिएको हो।
