काठमाडौं- घोषित प्रतिवद्धतता अनुसार नै अर्थमन्त्रीले अमेरिकी राजदूतसँग भेटघाट गरेका छन्। मन्त्री हुनेवित्तिकै कुनै पनि द्विपक्षीय कुटनीतिक वार्तामा परराष्ट्रको सहभागितामा मात्र गर्ने घोषणाअनुसार आज उक्त भेट गरेका हुन्।
अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्सनबीचको भेटमा मन्त्रालयका अन्य अधिकारीसँगै परराष्ट्रका प्रतिनिधि पनि सहभागी रहेको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्री खनालले बहुपक्षीय संस्थाबाहेकका कुटनीतिक वार्ता परराष्ट्रको समन्वय र सहभागितामा मात्र हुने प्रतिवद्धता व्यक्त गरेका थिए।
छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजको माध्यमबाट निजी क्षेत्रको मनोबल माथि उठाउनु रहेको बताएका थिए।
अमेरिकी राजदूतले हालैको घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना तथा सहानुभूति व्यक्त गर्दै यस परिस्थितिमा अमेरिकी सरकार नेपालको साथमा रहेको उल्लेख गरेका थिए।
एमसीसीको सहयोगमा सञ्चालित एमसीए नेपालबाट कार्यान्वयन भइरहेका परियोजनाहरु समयमै सम्पन्न गर्ने कार्यमा सरकारको थप प्रतिवद्धता आवश्यक रहेको उनले बताएका थिए।
अर्थमन्त्री खनालले उक्त परियोजनाहरुको सफल कार्यान्वयनका लागि सरकारको तर्फबाट गर्नुपर्ने कार्यहरूमा ढिलाइ नहुने विश्वास दिलाएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।