आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

ट्राफिक प्रहरीको अप्ठेरोमा एमएडब्लू फाउन्डेसनको साथ, यामाहाका १० मोटरसाइकल सहयोग

सोमबार, असोज ६ २०८२
ट्राफिक प्रहरीको अप्ठेरोमा एमएडब्लू फाउन्डेसनको साथ, यामाहाका १० मोटरसाइकल सहयोग

समुदाय नै अघि बढेर प्रहरीलाई सहयोग गर्ने कामहरू भइरहँदा समाजप्रतिको जिम्मेवारी महसुस गर्दै एमएडब्लू फाउन्डेसनले पनि सहयोग गरेको हो।

काठमाडौं- पछिल्लो आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडले ट्राफिक प्रहरीलाई अति आवश्यक सामग्रीहरूको अभाव भइरहँदा एमएडब्लू फाउन्डेसनले साथ दिएको छ। 

यतिबेला ट्राफिक व्यवस्थापनमा आवश्यक सामग्रीको अभावले ट्राफिक व्यवस्थापन हम्मे परिरहेको छ। पछिल्लो आन्दोलनपछि काठमाडौं उपत्यकामा दिनप्रतिदिन बढ्दो ट्राफिक चुनौती बढिरहेको छ। सीमित स्रोतसाधनले गर्दा हाम्रा ट्राफिक प्रहरीहरूमाथि अतिरिक्त दबाब परेको छ। त्यसैले सामाजिक उत्तरदायित्व विचार गर्दै एमएडब्लू फाउन्डेसनले उपत्यका ट्राफिक प्रहरीलाई १० वटा मोटरसाइकल सहयोग गरेको जनाएको छ।   

ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजीपी दानबहादुर कार्कीलाई मोटरसाइकल हस्तान्तरण गरिएको छ। फाउन्डेसनका अध्यक्ष विष्णुकुमार अग्रवालसहित अन्य सदस्यहरूले ट्राफिक प्रहरीको कामप्रति ऐक्यबद्धता जनाएका छन्। 

गएको भदौ २३ र २४ गते भएको आन्दोलन भड्किँदा आगजनी र तोडफोडका व्यापक घटनाहरू भए। २४ गते विभिन्न प्रहरी चौकीहरूसहित सवारीसाधनमा समेत आगजनी भएको थियो। आगजनीपछिको अवस्थामा प्रहरीलाई दैनिक आवश्यक सामग्रीको अभाव भइरहेको छ। समुदाय नै अघि बढेर प्रहरीलाई सहयोग गर्ने कामहरू भइरहँदा समाजप्रतिको जिम्मेवारी महसुस गर्दै एमएडब्लू फाउन्डेसनले पनि सहयोग गरेको हो। 

आफूहरूको पहल केवल दानमात्र नभएर यसले सुरक्षित सडकका साथै सहज ट्राफिक व्यवस्थापनले बलियो र एकीकृत समाजप्रतिको भूमिका निर्वाह गर्न मद्धत गर्ने विश्वास लिइएको फाउन्डेसनले जनाएको छ। 'हाम्रो सामाजिक उत्तरदायित्वको प्रतिबद्धताअन्तर्गत प्रहरीको क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले यो योगदान गरेका हौँ' फाउन्डेसनले भनेको छ।

एमएडब्लू ग्रुप अफ कम्पनीजको सहयोगमा एमएडब्लू फाउन्डेसनले उपलब्ध गराएका मोटरसाइकलहरूले काठमाडौं उपत्यका ट्राफिक प्रहरीको कार्यक्षमता बढाउने अपेक्षा राखेको फाउन्डेसनको भनाइ छ। 

'हामी नेपाली जनजीवन सुधार गर्ने परियोजनाहरूमा सहयोग गर्न निरन्तर प्रतिबद्ध छौँ। ट्राफिक सुरक्षा, सामुदायिक विकास वा सामाजिक कल्याणलगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने पहलहरूमा एमएडब्लू फाउन्डेसनको सधैँ साथ रहनेछ' फाउन्डेसनले जनाएको छ।


प्रकाशित : सोमबार, असोज ६ २०८२१३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend