काठमाडौं- दसैँका लागि यात्रा गर्नेहरू बढिरहँदा कतिपय सडक अवरुद्ध हुँदा कठिन भइरहेको छ। कतै सुक्खा पहिरो त कतै वर्षाका कारण सडक अवरुद्ध छ।
आज सोमबार बिहान ९ बजेसम्म प्रहरीले दिएको जानकारीअनुसार देशका ५ सडक पूर्णरुपमा अवरुद्ध भएका छन् भने ७ सडक एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएका छन्।
मुग्लिन-नारायणघाट सडक लामो समयको प्रयासपछि एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएको छ। रातिको समयमा पहिरोले बन्द भएको सडक अहिले एकतर्फी खुलेको हो।
बिपी राजमार्ग रातिको समयमा मनसुन अवधिभर बन्द रहने प्रहरीले जनाएको छ। मनसुन सक्रिय भएकोले बर्षातका कारण विपद्को घटना हुन नदिनको लागि अर्को सूचना नआएसम्म (प्रत्येक दिन बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म) रातिको समयमा बिपी राजमार्गमा भाडाका सवारी साधन आवागमनमा रोक लगाइएको हो।
कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-३ एकुवा क्षेत्रमा सडक पूर्णरुपमा अवरुद्ध छ।
बाढीका कारण रसुवाको गोसाइकुन्ड गाउँपालिका-२ स्थित नेपाल चीन नाका जोड्ने पुल पूर्ण रुपमा बन्द भएको छ।
पहिरोले पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुण्ड-२ कै बालुवाखानीस्थित सडक पूर्णरुपमा अवरुद्ध भएको छ।
अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित सडक पूर्ण रुपमा बन्द भएको छ ।
डोल्पा त्रिपुरासुन्दरीमा भेरी करिडोर सडक पूर्णरुपमा अवरोध भएको छ। भेरी करिडोर सडकखण्डको छलगाड खोला किनारमा माथिबाट सुक्खा पहिरो आइ बाटो पूर्णरुपमा अवरोध भएको हो।
अवरुद्ध भएका सडकहरू सुरक्षाकर्मीसहितको टोलीले खुलाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ।