काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी देशको वर्तमान जटिल अवस्था र त्यसले अटोमोबाइल व्यवसायमा परेका प्रभावहरुका सम्बन्धमा छलफल गरेको छ।
आइतबार नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीसँग छलफल गरेको हो। छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जा जलस्रोत, तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्यालसमेतको उपस्थिति रहेको थियो।
सो छलफलमा अध्यक्ष चौधरीले नाडा ७ वटा प्रदेशहरुसहित सबै किसिमका अटोमोबाइल वस्तुहरुको प्रतिनिधित्व गर्ने ४९ वर्ष पुरानो संस्था भएको जानकारी दिँदै नाडाका सम्बन्धमा सरकारलाई आवश्यक जानकारीसमेत दिन नसकेको दुखेसो पोखे। अध्यक्ष चौधरीले सरकारले नाडाले दिएका सुझावमध्ये दुई/तिनवटा सझावलाई मात्र सम्बोधन गरेमा पनि अटोमोबाइल व्यवसाय गतिशील हुने बताएका थिए।
अध्यक्ष चौधरीले आम व्यवसायीहरुको सुरक्षा र देशको शान्ति र अमनचयन सबैभन्दा महत्वपूर्ण विषय भएको बताउँदै व्यवसायीहरुको उत्थानका लागि सरकारले रोड म्यापसमेत तयार गर्नुपर्ने धारणा राखेका थिए। उनले नाडा सरकारसँग सहकार्य गरेर अघि बढ्न चाहेको पनि बताए।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाको तर्फबाट २२ बुँदे सुझावसमेत पेस गरे।
खासगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैंकहरुबाट हागर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालु रेसियोमा हाल ६० प्रतिशतको सीमालाई बढाएर ८० प्रतिशत पुर्याउनुपर्ने भन्दै नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा नाडाकोतर्फबाट वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको सुझावहरुको कार्यान्वयनका लागिसमेत नाडाले आग्रह गरेको छ।
अध्यक्ष चौधरीले सरकारले हालै गठन गरेको उद्योग प्रवर्द्धन परिषदमा नाडाको समेत प्रतिनिधित्व हुने व्यवस्थाका लागि समेत आग्रह गरे।
छलफलमा प्रधानमन्त्री कार्कीले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनको कारणबाट व्यवसायमा पर्न गएको क्षतिप्रति सरकार गम्भीर रहेको बताइन्। उनले आफू कानून व्यवसायी भएकाले नेपालको उद्योग व्यवसायका समस्याहरुका सम्बन्धमा कम जानकार भएको बताउँदै नेपालको हरेक आन्दोलनबाट व्यवसायीहरु नै प्रताडित हुनु परेको र नेपालमा व्यवसाय गर्नु जुवा खेल्नुसरह भएको बताइन्।
मन्त्री कार्कीले जस्तोसुकै विपद् आइलागे पनि हामीहरु अठोटका साथ अघि बढनुपर्ने आश्वासन दिँदै विधिको शासनलाई सबैले पालन गर्नुपर्ने र सरकार सदैव व्यवसायीहरुको साथमा रहने बताइन्। नेपालको बैंकिङ प्रणालीलाई व्यवसायमैत्री बनाइने आश्वासनसमेत प्रधानमन्त्री कार्कीले दिएको नाडाले जनाएको छ।
व्यवसायीहरुसँग धेरै अनुभव हुने बताउँदै सरकारले मात्र रोजगार दिन नसक्ने, निजी उत्पादनलाई सरकारले उच्च प्राथमिकता दिने, ब्याजदरमा सहुलियत दिने, देशलाई आत्मनिर्भर बनाउन देशका उद्योगहरुलाई उच्च प्राथमिकता दिइने, भन्सार शुल्क कम गर्नेगरी सरकारले काम गर्ने प्रधानमन्त्रीको भनाइ थियो। मन्त्री कार्कीले वर्तमान सरकारले निर्वाचन र सुशासनलाई पहिलो प्राथमिकतामा राखेको समेत बताइन्।
छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, केन्द्रीय कार्यसमिति सदस्यहरु कपिल शिवाकोटी, मेघराज पौडेल र निशान ढकाललगायतको उपस्थिति रहेको थियो।
