नौगाड- दार्चुलामा ‘जेनजी’ द्वारा गरिएको प्रदर्शनका क्रममा क्रममा आठ वटा कार्यालयमा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार हालसम्म आठवटा कार्यालयमा क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिको यकिन विवरण भने हालसम्म संकलन हुन सकेको छैन।
गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा जिल्लाका तीन वटा राजनीतिक दलका पार्टी कार्यालय, दुई वटा वडा कार्यालय, जिल्ला कारागार, गोकुलेश्वर अस्पताल र रेडियो लोकदर्पण एफएमको कार्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। प्रदर्शनका क्रममा कांग्रेसको पार्टी कार्यालयमा ६५ हजार रूपैयाँ नगदसहित जिन्सी, भौतिक संरचनालगायत सम्पूर्ण सामग्री नष्ट गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यालयभित्रका कम्प्युटर, अन्य उपकरणसहित कार्यालय तोडफोड भएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को कार्यालयमा रहेको सहिद प्रतिष्ठानमा करिब ९९ हजार रूपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक तथ्यांक प्राप्त भएको प्रजिअ पौडेलले जानकारी दिए।
'जिल्ला कारागार कार्यालयमा दुईवटा सीसी क्यामेरासहित करिब ५१ हजार ५ सय रूपैयाँ बराबरको क्षति पुगेको छ। गोकुलेश्वर अस्पतालमा क्षति पुर्याए पनि कति लागत बराबर क्षति पुग्यो भनेर विवरण पेस भएको छैन', उनले भने।
गत भदौ २६ गते दुहुँ गाउँपालिका-३ को कार्यालयमा आगजनी हुँदा चारकोठे भवनसहित वडा कार्यालयको एउटा कोठा जलेर नष्ट भएको छ। वडा कार्यालयभित्रका सम्पूर्ण कम्प्युटर, प्रिन्टरलगायत सामग्रीमा क्षति पुगेको छ। वडा कार्यालयमा ७२ लाख ६ हजार ७ सय रूपैयाँ बराबरको क्षति पुगेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
यसैगरी, गत भदौ २८ गते शैल्यशिखर नगरपालिका-२ को वडा कार्यालयमा तोडफोड गरिएको थियो। प्रजिअ पौडेलका अनुसार तोडफोडबाट वडा कार्यालयभित्रका सम्पूर्ण सामान नष्ट गरिए पनि क्षतिको रकम खुलाइएको छैन।
लेकम गाउँपालिका-५ मा रहेको सामुदायिक रेडियो लोकदर्पण एफएफमा प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरेका प्रशासनले जनाएको छ। प्रदर्शनपछि अहिले सबै ठाउँबाट नियमित सेवा सञ्चालन भइरहेको उनले उल्लेख गरे। रासस