सिरहा- यहाँको लहान नगरपालिकाले सुकुम्बासी तथा विपन्न परिवारलाई लक्षित गर्दै घरघरमा खानेपानीको धारा जडान गर्ने अभियान तीव्र बनाएको छ। नगरपालिकाले आजमात्रै थप ५५ सुकुम्बासी परिवारका लागि धारा जडान प्रक्रिया अघि बढाएको हो।
घरमा धारा जडान भएसँगै अब टाढाटाढाबाट घैलोमा पानी बोक्नुपर्ने बाध्यताबाट सुकुम्बासी परिवारले मुक्ति पाउने भएका छन्। यो अभियान ‘वाटर एड’ नेपालको आर्थिक सहयोगमा लहान नगरपालिका, नेपाल खानेपानी संस्थान लहान शाखा र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा सञ्चालित ‘विकन परियोजना’अन्तर्गत भइरहेको हो।
आज यहाँ आयोजित एक कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले धारा जडान गरिने परिवारको आवश्यक कागजात खानेपानी संस्थानलाई हस्तान्तरण गरे। उनले दसैँअगाडि यहाँका अधिकांश घरमा धारा जडान सम्पन्न हुने जानकारी दिए।
यसपटक वडा नं १, ७, १०, १७ र २४ का ५४ जना लालपुर्जा नभएका सुकुम्बासी र एकजना लालपुर्जा भएका गरी ५५ घरधुरी लाभान्वित हुनेछन्। उनका अनुसार अघिल्लो वर्षमात्रै ३०० घरधुरीमा धारा जडान गरिसकिएको छ।
'गत वर्ष हामीले ४०० विपन्न तथा सुकुम्बासी परिवारमा खानेपानी पुर्याउने योजना बनाएका थियौँ। हालसम्म १८१ घरमा धारा जडान भइसकेको छ', नगरप्रमुख चौधरीले भने, 'वीरगञ्जमा हालै देखिएको हैजाको सङ्क्रमणले देखाउँछ कि शुद्ध पानी सबैको घरमा पुग्नैपर्छ।'
यस क्षेत्रमा इनार र हातेकल सुक्दै गएपछि पानीको भरपर्दो स्रोतका रूपमा घरघरमा धारा आवश्यक भइसकेको लहान-२४ का वडाध्यक्ष राशलाल रायले बताए। उनले खानेपानी संस्थानले काममा गति दिएकामा खुसी व्यक्त गर्दै भने, 'अब इनारमा लाइन बस्ने, पालो कुर्ने बाध्यता अन्त्य हुँदै गएको छ। टाढाबाट पानी ल्याउने झन्झट हटेको छ।'
दलित जनकल्याण युवा क्लबका विकन परियोजना कार्यक्रम प्रबन्धक राजेशकुमार लोहनीले परियोजना केवल धारा जडानमा सीमित नरहेको जनाउँदै वडाध्यक्ष रायले समुदायमा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सचेतना अभियान पनि सञ्चालन भइरहेको जानकारी दिए।
नेपाल खानेपानी संस्थान लहान शाखाका वितरण प्रमुख लट्टु यादवका अनुसार शाखाबाट हालसम्म ६ हजार २२१ घरधुरीमा धारा जडान भइसकेको छ। लालपुर्जा भएका परिवारका लागि धारा जडान खर्च ६ हजार ३९० रूपैयाँ पर्ने जनाउँदै उनले लालपुर्जा नभएका सुकुम्बासीका लागि १० हजार ११० रूपैयाँ खर्च लाग्ने बताए।
लहान नगरपालिका र परियोजनाबाट अनुदान दिइँदै आइएको छ। 'नगरपालिकाले तीन हजार ७२० रूपैयाँ र परियोजनाले तीन हजार २७० रूपैयाँ अनुदान उपलब्ध गराउँछन्, जसअनुसार सुकुम्बासीले तीन हजार १२० रूपैयाँमात्र तिरेर धारा जडान गराउन सक्छन्। केही वडा कार्यालयले पनि यसमा थप सहयोग गरेका छन्', प्रमुख यादवले भने।
लहान नगरपालिकामा करिब २० हजार दलित सुकुम्बासी बसोबास गर्ने जनाउँदै उनले अधिकांशसँग घरजग्गाको लालपुर्जा नभएको बताए। यो अभियानले उनीहरूको स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको उनको भनाइ छ। रासस