सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

कुनैपनि निकायबाट सहयोग नजुटेपछि स्थानीयद्वारा श्रमदानमार्फत सडक मर्मत

आइतबार, असोज ५ २०८२
कुनैपनि निकायबाट सहयोग नजुटेपछि स्थानीयद्वारा श्रमदानमार्फत सडक मर्मत

विसं २०५८ मा उक्त मार्ग खोलिएको हो। त्यसयता बर्सेनि पहिरो जाँदा सडक स्तरोन्नति गर्नुपर्ने अवस्था बनेको थियो।

पर्वत- पातीचौर-देउपुर-लप्सीबोट-भुकताङ्ले सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरेका छन्। विसं २०५८ मा उक्त मार्ग खोलिएको हो। त्यसयता बर्सेनि पहिरो जाँदा सडक स्तरोन्नति गर्नुपर्ने अवस्था बनेको थियो।

कुनैपनि निकायबाट सहयोग नजुटेपछि स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका हुन्। मोदी गाउँपालिका-१, २ र ३ का बासिन्दाले श्रमदान गरेका हुन्। देउपुरस्थित कोरुङ्गा बनमामाथिबाट झरेको पहिरोले सडक भत्काएको थियो। कोरुङ्गा र दोबाटोबाट खसेको पहिरो पानी खोल्सा सडक खण्डमा आएर करिब दुई किलोमिटर सडक बगाएको देउपुरका पूर्व वडाध्यक्ष विकास तिमिल्सिनाले जानकारी दिए।

पहिरोले क्षतिग्रस्त सडकमा सवारीसाधन चलाउन सकिने अवस्था थिएन। वडा नं १, २ र ३ का करिब चारसय जनाले श्रमदान गरेका थिए। 'गाउँलेले झन्डै चार लाख रूपैयाँ बराबरको श्रमदान गरेका छन्', उनले भने।

सडक मर्मत भएसँगै चाडवाडको बेला गाउँमा आउनेजाने यात्रुलाई सहज हुने भएको छ। मोदी गाउँपालिका-१, २ र ३ लाई गाउँपालिकाको केन्द्र पातिचौर तथा पुष्पलाल मध्यपहाडी लोकमार्गमा जोड्ने मुख्य सडक नै अवरुद्ध भएको थियो।

पहिरो नियन्त्रण गर्न यसअघि भू तथा जलाधार व्यवस्थापन कार्यालयमार्फत रु ३३ लाखको लगानीमा काम सुरु भएको थियो। तर काम नसकिँदै गत असारमा आएको पहिरोले सडक बगाएको थियो। रासस


प्रकाशित : आइतबार, असोज ५ २०८२१३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend