काठमाडौं- नेपाल-चीन व्यापार सहजीकरणका लागि मुस्ताङ भन्सार कार्यालय नेचुङ (कोरला नाका) पूर्णरुपमा सञ्चालनमा आएको छ।
रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्णरुपमा बन्द भएको र तातोपनी भन्सार कार्यालयतर्फ कोदारी राजमार्गमा आएको पहिरोको कारण अवरोध भएपछि कोरला पूर्णरुपमा सञ्चालनमा ल्याइएको हो।
चीन र नेपालबीचको वैदेशिक व्यापारलाई सहजीकरण गर्न मुस्ताङ जिल्लास्थित मुस्ताङ भन्सार कार्यालयले सहयोग गर्नेछ।
असोज ४ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट २ सय ९ वटा विद्युतीय गाडी र १ सय ७ वटा मालबाहक ढुवानी साधनमा रहेका मालवस्तु जाँचपास गरी ३४ करोड ४७ लाख ४५ हजार २ सय ५२ रुपैयाँ राजस्व संकलन भएको छ।
कोरला नाकामा आशिकुडा प्रणालीसमेत सञ्चालन भइसकेको र नेपाल राष्ट्र बैंकको भदौ ३१ को परिपत्रअनुसार मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग भइ प्रतितपत्रमार्फत सामान आयात गर्न एकीकृत परिपत्र २०८१ मा समावेश गरी सहजीकरण गरिसकिएको जनाइएको छ।