कञ्चनपुर- दोधारा चाँदनी नगरपालिका-३ का रेशम बादी पुर्ख्यौली पेसा वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका थिए। पछिल्ला केही वर्षयता परम्परागत पेसाले मात्रै घर खर्चको जोहो गर्न मुस्किल भएपछि उनले अहिले उक्त पेसाको विकल्प खोज्न थालेका छन्।
वाद्यवादनका सामग्री बनाउन कच्चा पदार्थ पाउन कठिन भएपछि पेसा नै संकटमा पर्न थालेको बादी बताउँछन्। 'मेरो बुबाबाजेले मादल, दमाहालगायत वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्नुभएको हो, त्यहीँ पेसालाई मैले पनि निरन्तरता दिएको थिएँ', बादीले भने, 'अहिले यो पेसाबाट घरखर्च जोहो गर्नसमेत मुस्किल पर्छ।'
वाद्यवादनका सामग्री बनाउन कच्चा पदार्थका रूपमा छाला र (खमारी) काठ आवश्यक पर्ने भए पनि अहिले सहजरुपमा पाउन मुस्किल छ। यसकारण पनि यो समुदायले पुर्ख्यौली पेसाबाट जीविकोपार्जन गर्न चुनौती थपिएको हो।
'केही वर्षअघिसम्म तीजको बेला र दसैँतिहारमा मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो', बादीले भने, 'अहिले तीजमा डिजेमा नाच्दछन् मादलको माग आउन छाड्यो, दसैँका बेलामा थारू समुदायले मादल बनाउन धेरै माग गर्छन्।'
उनले थारू समुदायमा दसैँको समयमा सखिया नाच नाच्ने भएकाले यो सिजनमा मादल बनाएर मात्र ३० हजारदेखि ४० हजार रूपैयाँसम्म आम्दानी हुने गरेको बताए। अहिले पनि थारू समुदायबाट मादल बनाउन धेरै माग आएको छ।
'अहिले मादल बनाउन न छाला पाइन्छ त (खमारी) काठ पाइन्छ, मादलमा बाख्राका छालाको प्रयोग हुन्छ', उनले भने, 'भारतीय छिमेकी सहरमा छाला पाइन्छ, नाकामा सुरक्षाकर्मीले ल्याउन दिँदैनन्।' दसैँका समयमा मादल बनाएको सानो र ठूलोको दुई हजारदेखि १२ हजार रूपैयाँसम्म लिने गरेको बादीले बताए।
छाला र (खमारी) काठ नपाइने भएकाले पछिल्लो समय नयाँ मादल बनाउनेभन्दा पनि मादल मर्मतका लागि आउने गरेको उनको भनाइ छ। यही समस्याका कारण पेसा नै संकटमा परेपछि विकल्पका रूपमा जुत्ताको घरेलु उद्योग सञ्चालन गरेको बादी बताउँछन्।
'जतिबेलासम्म छाला र (खमारी) काठ सहजरूपमा पाइन्थ्यो यसबाट राम्रो आम्दानी हुन्थ्यो', वादीले भने, 'अहिले जंगलबाट (खमारी) काठ ल्याउन मिल्दैन, छाला सहजरूपमा पाइँदैन, यी दुई मुख्य कुरा नभएपछि वाद्यवादनका सामग्री बनाउन सकिँदैन।'
दामाहा बाजा बनाउनका लागि छाला पाउन मुस्किल हुने गरेको छ। उनका अनुसार भारतीय बजारमा एउटा छालाको एक हजार रूपैयाँसम्म खरिद गर्न पाइन्छ। 'यहाँ छालाका लागि हामीले बाख्रा किन्नुपर्छ त्यो अत्यन्त महँगो हुन्छ, छालामात्र पाउँदैन', बादीले भने, 'भारतीय सहरहरूमा पाइन्छ, सीमानाकामा ल्याउन पाइँदैन।'
अहिले जुत्ता उद्योगबाट घरखर्चको जोहो गरिरहेका बताउँदै उनले सिजनमा भने मादल बनाउने गरेको बताए। 'अहिले सिजनमा माग आएका बेलामात्र यो पेसा गर्छु, जीविकोपार्जनका लागि घरेलु जुत्ता पसल सञ्चालन गरेको छु', बादीले भने, 'पाँच छोराछोरीसहित परिवारको जोहो त्यसैबाट भएको छ।' बादी समुदायको पुर्ख्यौली पेसा जोगाउनका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ।
बादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्री गर्ने हो। विभिन्न पर्व विशेषमा समेत नाचगान गरेर जीविकोपार्जन गर्ने यो समुदाय बढ्दो आधुनिकतासँगै संकटमा पर्दै गएको छ। रासस