बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एसियाली राजमार्गको चारआली र चारपानेमा ओभरपास निर्माण सुरु

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ५ २०८२
एसियाली राजमार्गको चारआली र चारपानेमा ओभरपास निर्माण सुरु

विर्तामोडमा ओभरपास बनाउने योजना भए पनि हालसम्म निर्माण सुरु भएको छैन। विर्तामोडको मुक्ति चोकबाट पूर्वतर्फ दुई सय मिटर र पश्चिमतर्फ तीन सय ९० मिटर ओभरपास निर्माणको लक्ष्य रहेको छ।

झापा- पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति गर्ने क्रममा झापाको दुई स्थानमा ओभरपास निर्माण सुरु भएको छ। मेचीनगरको चारआली र विर्तामोडको चारपाने क्षेत्रमा ओभरपास निर्माण थालिएको हो।

सरकारले एसियाली विकास बैंकको सहयोगमा पूर्व-पश्चिम राजमार्गलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ। झापाको काँकडभिट्टाबाट सुनसरीको लौकहीसम्मको ९५ दशमलव ७६ किलोमिटरमा ठेक्कामार्फत निर्माण तीव्र गतिमा भइरहेको हो।

यातायातको बढी चाप हुने सहरी क्षेत्रमा ओभरपास निर्माण गर्ने योजना रहेको काँकरभिट्टा-लौकही सडक आयोजना पूर्वी खण्डका आयोजना प्रमुख एवं इञ्जिनियर सुनिलबाबु पन्तले बताए। चारआलीमा चोकबाट पूर्वतर्फ दुई सय ५१ मिटर र पश्चिमतर्फ दुई सय २६ मिटरतर्फ ओभरपास निर्माण भइरहेको उनले जानकारी दिए।

चारपानेमा चोकबाट पूर्वतर्फ दुई सय सात मिटर र पश्चिमतर्फ तीन सय आठ मिटर ओभरपास निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ।

विर्तामोडमा ओभरपास बनाउने योजना भए पनि हालसम्म निर्माण सुरु भएको छैन। विर्तामोडको मुक्ति चोकबाट पूर्वतर्फ दुई सय मिटर र पश्चिमतर्फ तीन सय ९० मिटर ओभरपास निर्माणको लक्ष्य रहेको छ।

'चारआली र चारपानेमा ओभरपासका लागि यातायात सहजताका लागि डाइभर्सन बनाएर बेस बनाउन थालिएको हो', इञ्जिनियर पन्तले भने।

पूर्वीखण्डको काँकडभिट्टा-केर्खा खण्डको ४५ किलोमिटर निर्माणसम्बन्धी ठेक्का इभरस्कोन कालिका जेभीले १० अर्ब ६ करोड रुपैयाँमा लिएको छ। यस खण्डमा तीन सय मिटरभन्दा साना १८ वटा र ठूला तीन वटा पुल निर्माणाधीन अवस्थामा छन् भने एक सय ४० वटा कल्भर्ट निर्माण गरिने इञ्जिनियर पन्तले जानकारी दिए।

काँकडभिट्टाबाट केर्खासम्मको पूर्वी खण्ड हेर्नका लागि दमकमा र केर्खाबाट इटहरीसम्मको पश्चिमी खण्डको निर्माण हेर्नका लागि इटहरीमा कार्यालय रहेका छन्। काँकडभिट्टाबाट इटहरीसम्मको १० स्थानमा ओभरपास निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असोज ५ २०८२११:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend