सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन

आइतबार, असोज ५ २०८२
तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन

२५ दिनको निःशुल्क तालिमसहित ५० प्रतिशत अनुदानमा कपडा बुन्ने उपकरण सहयोग गरेपछि जुगरानीसहितका महिला उद्यममा जोडिन सफल भएका छन्।

कैलाली- टीकापुर नगरपालिका-५ की जुगरानी चौधरीको दुई महिना अगाडिको समय निकै सकसपूर्ण थियो। दिनभर घरायसी काममा व्यस्त देखिने उनको कामबाट परिवार पनि सन्तुष्ट थिएन। उनी घरमा जति काम गरे पनि त्यसबाट आम्दानी नहुने भएपछि मानसिक तनाव हुने गरेको बताउँछिन्।

जुगरानीलाई सहकारी संस्थाले तालिमका लागि सिफारिस गरेर सिकेको २५ दिने तालिमले उनको जीवन फेरिएको छ। एक संस्थाले २५ दिनसम्म दिएको तालिमले उनी उद्यममा जोडिन सफल भएकी हुन्।

२५ दिनको निःशुल्क तालिमसहित ५० प्रतिशत अनुदानमा कपडा बुन्ने उपकरण सहयोग गरेपछि जुगरानीसहितका महिला उद्यममा जोडिन सफल भएका छन्। जुगरानीले अहिले केराको रेसाबाट काँचो कपडा बुन्ने काम थालेकी छिन्। आजभोलिको दैनिकी कपडा बनाउने काममै बित्ने गरेको छ।

'खेर जाने केराको बोट (थाम) बाट कपडा हुन्छ भन्ने विश्वास गर्न नसकेकी म आफै कपडा बनाउन थालेकी छु', उनी भन्छिन्, 'आजभोलि परिवारले पनि विश्वास गर्न थालेको छ। आफूलाई पनि आत्मनिर्भर भएको महसुस हुन्छ।'

टीकापुर नगरपालिका-८ स्थित धनसिंहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीमा आठ जना सदस्यलाई तालिममा सहभागी गराएर कपडा उत्पादन गर्ने सुरु गरेपछि महिला आत्मनिर्भर बन्दै गएका छन्।

तालिमबाट आत्मनिर्भर बनेका महिला काम पाएपछि निकै उत्साहित भएर काम गरिरहेका छन्। 'सीप भएपछि पैसा कमाउन समस्या नहुँदोरहेछ। समाजले हेर्ने दृष्टिकोणमा फेरिँदोरहेछ', सोही ठाउँकी कमला साउदले भनिन्, 'हिजो घरमा बसेर दिन बिताउन मुस्किल हुन्थ्यो भने आजभोलि समय नै पुग्दैन।'

महिलाहरूले उत्पादन गरेको कपडा काठमाडौं लगिन्छ। प्रतिमिटर तीन सयमा काठमाडौंको अल्लो बजारले कपडा खरिद गर्दै आएको छ। मागअनुसार पुर्‍याउन नसकिएको वडा नं ७ की सकुन्तला चौधरी बताउँछिन्। 'बजारमा माग निकै छ। एउटै कम्पनीलाई पनि हामीले पुर्‍याउन सकेका छैनौँ', उनी भन्छिन्, 'बुन्न झन्झटिलो हुँदा समय बढी लाग्ने गरेको छ।' उनले आधुनिक मेसिन भएको भए धेरै उत्पादन गर्न सकिने विश्वास व्यक्त गरिन्।

उत्पादन भएको कपडा निर्यातका लागि सहकारीले सहजीकरण गर्दै आएको छ। दुई वर्ष अगाडिबाट केराको खेर गइरहेको थामबाट रेसा उत्पादन गर्दै आएको सहकारीले यसभन्दा पहिले रेसा तयार गरेर बिक्री गर्दै आएको थियो।

बजारमा रेसाको माग निकै हुँदा पुर्‍याउन नसकिएको सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले बताए। 'रेसाका लागि चाहिने कच्चा पदार्थ अर्थात् केराको थाममा हामीले अहिलेसम्म पैसा तिर्नुपरेको छैन। उत्पादन भएको रेसाले बजारको माग धान्न सकेका छैनौँ', उनी भन्छन्, 'अहिले त आफ्नै लागि रेसा पुर्‍याउन सकिएको छैन।'

महिलाहरूले सरकारबाट सहयोगको अपेक्षा गरेका छन्। उत्पादन भएको कपडाबाट अन्य सामग्री उत्पादनका लागि आवश्यक सीप र आधुनिक मेसिनमा सहयोगको अपेक्षा महिलाहरूले गरेका छन्। 'कपडा उत्पादनसँगै त्यसबाट आवश्यक सामग्री बनाउन सके अझै राम्रो आम्दानी गर्न सकिन्थ्यो', स्थानीय कमलाकुमारी चौधरी भन्छिन्, 'हामीलाई थप सीप र आधुनिक मेसिनमा सहयोग चाहिएको छ। केही रकम हामी आफै पनि लगानी गर्न सक्छौँ।'

उनले केराको कपडाबाट टोपी, झोला, चप्पल, जुत्ता, गुन्द्रीलगायत सामग्री उत्पादन गर्न सकिने बताइन्। स्थानीय महिलालाई सिलाइकटाइलगायत तालिममा लाखौँ खर्च स्थानीय सरकारले बर्सेनि गर्दै आए पनि आफ्नो क्षेत्रमा खेर गइरहेको कच्चा पदार्थको उपयोग गर्दै आत्मनिर्भर बनाउने काममा लगानी आवश्यक रहेको चौधरी बताउँछिन्।

'टीकापुर केराको नामबाट परिचित छ। त्यहीँ केराबाट हरेक नागरिक आत्मनिर्भर बन्न सक्ने आधार छन्', उनी भन्छिन्, 'लगानी आवश्यक छ। स्थानीय सरकारले अन्य महिलालाई पनि यस्तै तालिम दिनसक्यो भने रोजगारी आफै सृजना गर्न सकिन्छ।'

टीकापुरमा हाल एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा केराखेती हुँदै आएको छ। केरा उत्पादन भएपछि खेर गइरहेको केराको बोट (थाम)बाट रेसा उत्पादन गरेर कपडा उत्पादन भइरहेको छ। रासस


प्रकाशित : आइतबार, असोज ५ २०८२११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend