काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा लगानीको वातावरण बिग्रन नदिन सबै सरोकारवालालाई गम्भीर हुन आग्रह गरेका छन्।
भाद्र २३–२४ गते भएको जेएनजी आन्दोलनका क्रममा बहुराष्ट्रिय कम्पनी एनसेल तथा चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्समा आगजनी र तोडफोड भएको घटनाको निरिक्षण गर्दै अध्यक्ष ढकालले यस्ता घटनाले लगानीमैत्री वातावरणमा दीर्घकालीन असर पार्ने बताएका छन्। उनले आन्दोलनका क्रममा देशभरि निजी क्षेत्रका ठूला, मझौला तथा साना उद्योग र व्यक्तिको सम्पत्तिमा क्षति पुगेको र यसले दैनिक उत्पादन र रोजगारीमा प्रभाव परेको बताए।
अध्यक्ष ढकालले भने, “नेपालमा लगानीको वातावरण बिग्रिने अवस्था आएको छ। यस्ता घटनाले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ। सरकार, राजनीतिक दलहरू र सरोकारवालाहरूलाई लगानीमैत्री वातावरण कायम गर्न आग्रह गर्दछु।”
महासंघका उपाध्यक्ष हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य र केन्द्रीय सदस्यहरू सैलेन्द्र गुरागाई, डा. राशरण थपलिया, पशुपतिदेव पाण्डे र कमला श्रेष्ठसहित क्षतिग्रस्त संरचनाको निरीक्षण गरिएको थियो। महासंघले यसअघि अर्थमन्त्री र गृहमन्त्रीसँग भेट गरी निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति दिन र आन्दोलनका क्रममा भएको आगजनी, तोडफोडमा संलग्नमाथि कानूनी कारबाही गर्न आग्रह गरिसकेको छ।
नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशतभन्दा बढी भएको अवस्थामा, अध्यक्ष ढकालले लगानी र उत्पादनको संरक्षणका लागि उद्योगी व्यवसायीहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन्।