काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेप्से सूचकांकको अन्तिम मूल्य गणनाका लागि लागु गरिएको १५ मिनेटको भारित औसत मूल्य निर्धारण विधिलाई स्थगन गरेको छ। बोर्डले लगानीकर्ताको तीव्र दबाबका कारण हालका लागि यसलाई स्थगन गरेको जनाएको छ।
आज बिहानैदेखि लगानीकर्ताहरु सेबोन परिसरमा भेला भई चर्को विरोध गरेपछि बोर्डले उक्त निर्णय लिएको हो। यससँगै आइतबारदेखि १५ मिनेटको औसत कारोबार विधि हटेर पहिलेको नियम अनुसार अन्तिम कारोबार मूल्यलाई नै अन्तिम मूल्य मानिनेछ।
गत चैत ७ गतेदेखि लागु भएको उक्त विधि, खराब वित्तीय अवस्था भएका कम्पनीको मूल्य अन्तिम समयमा कृत्रिमरूपमा बढ्ने प्रवृत्ति नियन्त्रण गर्न लागू गरिएको थियो। नियमअनुसार २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्मको कारोबारको भारित औसत मूल्यलाई क्लोजिङ प्राइस मानिन्थ्यो।
तर, जेनजी आन्दोलनपछि बजार लगातार बन्द रहेपछि असोज २ गते खुलेको बजारमा तीन पटक नकारात्मक सर्किट लागेर बन्द भएको थियो। लगानीकर्ताले यस प्रावधान हटाउन लगातार माग गर्दै बिहीवार सेबोनमा धर्ना समेत दिएका थिए।
अर्थमन्त्री रामेश्वर खनालको निर्देशनपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले प्रावधान हटाउने प्रस्ताव सेबोनमा पठाएका थिए।
अर्थमन्त्री खनालको निर्देशनपछि नेप्सेमा १५ मिनेटको अन्तिम मूल्य गणना विधि हटाउने तयारी