बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दसैँअघि नै नागढुंगा-सिस्नेरी सुरुङमार्ग सञ्चालनमा ल्याउन मन्त्री घिसिङले दिए निर्देशन

शनिबार, असोज ४ २०८२
दसैँअघि नै नागढुंगा-सिस्नेरी सुरुङमार्ग सञ्चालनमा ल्याउन मन्त्री घिसिङले दिए निर्देशन

सुरुङमार्ग सञ्चालनमा आएपछि दसैँतिहारमा यात्रामा निस्कने सर्वसाधारणलाई सहज र सुरक्षित यात्रा हुने विश्वास लिइएको छ।

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दसैँअघि नै नागढुंगा-सिस्नेरी सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका छन्। शनिबार मन्त्रालयमा चाडपर्वलक्षित यातायात व्यवस्थापनबारे सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले यात्रुबाहक सार्वजनिक सवारीसाधनलाई दसैँ अवधिमा नै सो सुरुङमार्गमार्फत सञ्चालन गर्ने योजना अघि बढाइएको जानकारी दिएका हुन्।

उनले काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीलाई सुरुङमार्ग प्रयोग गराउने र दसैँपछि उपत्यका भित्रिने सवारीलाई प्रवेशको व्यवस्था मिलाउने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको बताए। सुरुङमार्ग सञ्चालनमा आएपछि दसैँतिहारमा यात्रामा निस्कने सर्वसाधारणलाई सहज र सुरक्षित यात्रा हुने विश्वास व्यक्त गरिएको छ। हाल नागढुंगा नाकामा देखिँदै आएको भीडभाड तथा अव्यवस्था सुरुङमार्ग सञ्चालनसँगै न्यून हुने अपेक्षा गरिएको छ।

सडक विभागका अधिकारीका अनुसार सुरुङमार्ग सञ्चालनका लागि आवश्यक अन्तिम तयारी तीव्र गतिमा भइरहेको छ। सुरुङमार्ग सञ्चालन भएपछि यात्रामा समय बचत हुने मात्र नभई ढुवानी मूल्य समेत घट्ने अपेक्षा गरिएको छ।

२ हजार ६ सय ८८ मिटर (२.६८८ किमी) लम्बाइको उक्त सुरुङमार्गमा ३.५ मिटर चौडाइका दुईवटा लेन निर्माण गरिएको छ। सुरुङको दुवैतर्फ नालीको व्यवस्था गरिएको छ। विसं २०७७ कात्तिकमा जापानी कम्पनी हाजमा एन्डो कर्पोरेसनसँग ४२ महिनाको म्यादमा निर्माण सम्झौता भए पनि कोरोना महामारी, स्थानीय अवरोध र अन्य कारणले दुईपटक म्याद थप गर्दै हाल सन् २०२५ अक्टोबर २५ सम्म म्याद तोकिएको छ।

सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) बाट १६ अर्ब रूपैयाँ ऋण लिएर निर्माण सुरु गरेको सुरुङमार्गमा कुल २२ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसमध्ये ६ अर्ब रूपैयाँ मुआब्जा प्रयोजनका लागि सरकारले छुट्याएको हो। निर्माणमा हाजमा एन्डो कर्पोरेसन संलग्न रहेको छ भने परामर्श सेवामा जापानी कम्पनी निप्पोन कोही सहित तीनवटा नेपाली कम्पनी संलग्न छन्।

नेपालमा सडक यातायातका लागि आधुनिक प्रविधि प्रयोग गरी निर्माण गरिएको यो पहिलो सुरुङमार्ग हो। काठमाडौंनजिकै बनेको र राष्ट्रिय महत्व बोकेको यो आयोजना सञ्चालनमा आएपछि नागढुंगाको थनाकोट क्षेत्रमा देखिने जाम अन्त्य हुने अपेक्षा गरिएको छ। सुरुङमार्ग प्रयोग गर्दा जम्मा दुई मिनेटमै यात्रा गर्न सकिनेछ, जसका कारण अहिलेको करिब २५ मिनेटको यात्रा छोटिने आयोजनाले जनाएको छ।

नागढुंगा सुरुङको आपतकालीन उद्धार सुरुङ २०८० साउनमा छिचोलिएको थियो भने मुख्य सुरुङ २०८१ वैशाख ३ गते छिचोलिएको हो।


प्रकाशित : शनिबार, असोज ४ २०८२१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend