सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

जेनजी आन्दोलनमा ध्वस्त सीजी डिजिटल पार्कको अवलोकनमा अर्थमन्त्री खनाल

शनिबार, असोज ४ २०८२
जेनजी आन्दोलनमा ध्वस्त सीजी डिजिटल पार्कको अवलोकनमा अर्थमन्त्री खनाल

आगजनीका कारण सम्पूर्ण संरचना ध्वस्त भए तापनि सीजी र एलजीका विद्युतीय सामग्री आपूर्ति श्रृंखलामा कुनै अवरोध हुन नदिने चौधरी ग्रुपले जनाएको छ।

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले हालैको जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको सतुंगलस्थित चौधरी ग्रुपको सीजी डिजिटल पार्क अवलोकन गरेका छन्। 

क्षतिको अवलोकनपश्चात मन्त्री खनालले आन्दोलनका कारण अर्बौँ रूपैयाँ बराबरको क्षति बेहोरेको निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 'हालैको विनाशबाट माथि उठ्दै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता हो,' उनले भने, 'निजी क्षेत्रको सक्रियता र लगानीबिना यो सम्भव छैन। सरकार निजी क्षेत्रलाई सहयोग र सहजीकरण गर्न तयार छ।'

आन्दोलनकारीले गरेको आगजनीका कारण खरानीमा परिणत भएको यो संरचना चौधरी ग्रुपको प्रमुख औद्योगिक इकाइमध्ये एक हो।

जेनजी आन्दोलनका क्रममा चौधरी ग्रुपका व्यावसायिक प्रतिष्ठान, उद्योग र निजी निवासहरूमा व्यापक तोडफोड तथा आगजनी भएको थियो। तीमध्ये सीजी डिजिटल पार्क सर्वाधिक प्रभावित स्थल हो।

rameshor khanal - cg digital park.jpg

सतुंगलस्थित यो पार्कबाट सीजी ब्रान्डका विद्युतीय सामग्री एसेम्बल गरी बजारमा पठाइने गरिएको थियो। साथै, एलजीसहितका अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय उपकरणहरू पनि यही पार्कमा एसेम्बल हुने गरेका थिए।

आगजनीका कारण सम्पूर्ण संरचना ध्वस्त भए तापनि सीजी र एलजीका विद्युतीय सामग्री आपूर्ति श्रृंखलामा कुनै अवरुद्ध हुन नदिने चौधरी ग्रुपले जनाएको छ।

मन्त्री खनालको भ्रमणलाई निजी क्षेत्रको मनोबल उच्च राख्ने प्रयासका रूपमा लिइएको छ।


प्रकाशित : शनिबार, असोज ४ २०८२१४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend