काठमाडौं- गएको भदौ २३ र २४ गते भएको युवाहरूको प्रदर्शन भड्किँदा त्यसको असर धेरैतिर देखिन थालेको छ। नेपालीलाई विभिन्न देशले भिसामा कडाइ गर्नुका साथै नेपाल आउनेहरूले पनि बुकिङ रद्द गर्न थालेका छन्।
युवाहरूले भ्रष्टाचार र बेथितिविरुद्ध गरेको आन्दोलन भड्किँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतलगायतका संरचना जले।
मा सरकारले गोली चलाउँदा १९ जनाको निधन भएपछि २४ गते भड्किएको प्रदर्शनले देशका अधिकांश संचरना जले। विभिन्न अपराधको कसुरमा कारागारमा रहेका १५ हजार जनाभन्दा बढी कैदी भागे। यसरी निस्किएमा ९ हजार कैदीबन्दी अझै बाहिर नै घुमिरहेका छन्।
यसरी अपराधको सजाय भुक्तान गर्नुपर्नेहरू सडकमा खुलमखुला हिँडेका कारणले विदेशी मुलुकले नेपाललाई संवेदनशील सूचीमा राख्न थालेका छन्। घोषितभन्दा अघोषित रुपमा यस्तो कडाइ गरिएको छ।
पछिल्लो समय हङकङको क्याथे प्यासेफिक एयरलाइन्सले नेपाल उडान स्थगन गरेको छ। त्यस्तै संयुक्त अरब इमिरेट्सले नेपालीहरूलाई भिजिट भिसा दिन बन्द गरिदिएको छ।
कुनै पनि मुलुकमा राजनीतिक प्रदर्शन हिंस्रक बन्दा प्राय मुलुकहरूले त्यस्ता देशमा जान आफ्ना नागरिकलाई रोक्छन् भने त्यस्ता देशबाट आफ्नो देशमा आउन पनि दिँदैनन्।
पछिल्लो समय अधिकांश कुटनीतिक नियोगले नेपालीहरूलाई भिसा दिन अस्वीकार गरिरहेका छन्। यसअघि नै आवेदन दिएकाहरूका आवेदन पनि अस्वीकृत भइरहेका छन्। भिसा तथा ट्राभलमा काम गर्नेहरूले यस्तो प्रवृत्ति धेरै बढेको बताउँछन्।
चीनबाट नेपालमा यात्रा गर्न आउने भन्दै यसअघि नै बुकिङ गरेकामा ५० प्रतिशतभन्दा धेरै बुकिङ रद्द भइसकेको छ। न्यून बजेटमा घुम्न खोज्ने चिनियाँहरूको आकर्षक गन्तव्य मानिने नेपाल अहिले नआउने योजनामा उनीहरू पुग्न थालेका छन्।
चीनबाहेक भारत र अधिकांश पश्चिमा मुलुकले ट्राभल एड्भाइजरी जारी गरेका छन्। यसको असर नेपाल उडान हुने एयरलाइन्सको टिकेटिङ र होटल बुकिङमा देखिएको छ। पछिल्लो समय यस्तो बुकिङ रद्दको दर दिनदिनै बढिरहेको व्यवसायीहरू बताउँछन्।


