काठमाडौं- जेनजी आन्दोलनका क्रममा भएको ठूलो भौतिक क्षतिको असर गएको बिहीबार पुँजी बजारमा स्पष्ट देखियो। नेपाल बीमा प्राधिकरणले भदौ ३१ गतेसम्म निर्जीवन बीमा कम्पनीहरूमा करिब २० अर्ब ७० करोड रूपैयाँको दाबी परेको तथ्यांक सार्वजनिक गरेसँगै लगानीकर्तामा त्रास थपिएको हो। अझै थप विवरण आउन बाँकी रहेकाले यो रकम ३० अर्ब नाघ्ने अनुमान गरिएको छ।
यो दाबीको भार निर्जीवन बीमा कम्पनीहरूमात्र नभइ नेपाल पुनर्बीमा कम्पनीमा समेत पर्ने निश्चित भएको छ। हालको संरचनाअनुसार हुलदंगा र आतंकवाद बीमाअन्तर्गत पर्ने दाबीको ६५ प्रतिशत पुनर्बीमाले र ३५ प्रतिशत निर्जीवन बीमा कम्पनीहरूले व्यहोर्नुपर्ने हुन्छ। तर दाबी भुक्तानीको ठूलो जाने त्रासले बिहीबार निर्जीवन बीमा कम्पनीहरूको सेयर बजारमा ठूलो गिरावट आएको छ।
सबैभन्दा बढी १० प्रतिशतले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य घटेको छ। शिखर इन्स्योरेन्स ९.९८ प्रतिशतले, एनएलजी इन्स्योरेन्स ९.९३ प्रतिशतले र युनाइटेड अजोड इन्स्योरेन्स ९.७९ प्रतिशतले घट्यो।
नेपाल इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स ५.८७ प्रतिशतले, नेको इन्स्योरेन्स र सानिमा जीआईसी इन्स्योरेन्स ५.८६ प्रतिशतले, प्रभु इन्स्योरेन्स ३.९५ प्रतिशतले, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १.९९ प्रतिशतले र हिमालयन एभरेष्ट इन्स्योरेन्स १.७६ प्रतिशतले घट्यो। पुनर्बीमा कम्पनीमध्ये नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य १० प्रतिशतले र हिमालयन रिइन्स्योरेन्सको ९.९९ प्रतिशतले घटेको छ।
सेयर बजारमा बिहीबार तीनपटक सर्किट ब्रेक लाग्यो। कारोबार सुरु भएको दुई मिनेटमै परिसूचक ४ प्रतिशतले ओरालो लाग्दा पहिलो सर्किट ब्रेक लाग्यो। २० मिनेट रोकिएर खुलेको बजार फेरि एक मिनेटमै ५ प्रतिशतले खस्यो र दोस्रोपटक रोकियो। त्यसपछि ४० मिनेटपछि खुलेको बजार ६ प्रतिशतले खस्दै तेस्रोपटक सर्किट ब्रेक लागेपछि बिहीबारका लागि कारोबार बन्द गरियो। यस दिन नेप्से परिसूचक १६०.३३ अंकले घटेर २५११.९१ बिन्दुमा झर्यो। जम्मा ६ मिनेट चलेको बजारमा ७२ करोड रूपैयाँको कारोबार भयो।
गएको भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनले बीमा क्षेत्रमा महाभूकम्पपछि अहिलेसम्मकै ठूलो दायित्व सिर्जना गरेको प्राधिकरणको आँकलन छ। २०७२ सालको भूकम्पमा करिब १८ अर्ब रूपैयाँ दाबी भुक्तानी भएको थियो भने कोभिड-१९ र २०८० साल असोजको बाढीले पनि बीमा कम्पनीलाई ठूलो दबाबमा पारेका थिए। यसपटकको दाबी त्यसभन्दा ठूलो हुने अनुमान गरिएको छ।
आन्दोलनका क्रममा निजी र औद्योगिक सम्पत्तिमा भएको क्षति विशेषगरी बीमा कम्पनीहरूको दायित्व बनेको हो। राजधानीका सुपरमार्केट, होटल, दूरसञ्चार कम्पनी, बैंकका शाखा, सवारीसाधनदेखि व्यक्तिगत घर र व्यवसायमा आगजनी तथा तोडफोड हुँदा अर्बौँको क्षति भएको प्रारम्भिक विवरणले देखाएको छ।
यस घटनाले बीमा कम्पनीहरूको वित्तीय स्थायित्वमा गहिरो असर पार्ने आकलनसँगै क्रेडिट रेटिङ कम्पनी ईक्रा नेपालले १३ कम्पनीलाई वाचलिष्टमा राखेको छ। तीमध्ये १२ कम्पनीलाई ‘वाच विथ निगेटिभ इम्प्लिकेसन्स’ र एकलाई ‘वाच विथ डेभलपिङ इम्प्लिकेसन्स’ मा राखिएको हो।
नकरात्मक सूचीमा पर्नेमा नेपाल रिइन्स्योरेन्स, शिखर, सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर, एनएलजी र युनाइटेड अजोड इन्स्योरेन्स रहेका छन्। यसका कारण पनि सेयर बजारका लगानीकर्ता त्रासमा देखिएका छन्।
बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघले आपतकालीन बैठक बसेर यो घटना महाभूकम्पभन्दा ठूलो दाबी भुक्तानीको चुनौती हुन सक्ने निष्कर्ष निकालेको छ। संघले अवस्था गम्भीर भए पनि बीमा कम्पनीहरू दाबी भुक्तानीका लागि सक्षम र प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
बीमा प्राधिकरणले पनि बीमा कम्पनीहरूलाई बीमितले समयमा दाबी पाउन सकून् भनेर सहज, छिटो र पारदर्शी ढंगले भुक्तानी गर्न निर्देशन दिएको छ।
यसैबीच सेयर बजारमा लगानीकर्ताको मनोबल बढाउन अर्थ मन्त्रालयले धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलले पाँच दिनभित्र सुझाव पेश गर्ने र त्यसको आधारमा सरकारले निर्णय गर्ने तयारी गरेको छ।