काठमाडौं- नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रीया शीघ्र निश्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको जनाएको छ।
बीमा गरेका सवारीसाधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन संघले आग्रहसमेत गरेको छ।
वर्तमान अवस्थामा बीमाको महत्व झनै बढेको सन्दर्भमा, बीमा कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अगाडि बढाइरहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
बीमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्यांकन गरी, क्षति विवरणको आधारमा दावी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउने संघले स्पष्ट पारेको छ।
आन्दोलनका क्रममा राष्ट्रपतिको भवन, संसद भवन, सुरक्षानिकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार, यातायात लगायतका भौतिक संरचनामा भएको क्षतिको गहिरो दुःख व्यक्त गर्दै संघले बीमा कम्पनीहरूलाई यस संकटको समयमा दाबी भुक्तानीलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायमा आह्वान गरेको छ।
संघका अध्यक्ष राजेन्द्र मल्लले बीमितहरूले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजातहरू चाँडो बीमा कम्पनीमा बुझाइ दाबी प्रक्रिया सहज बनाउने कार्यमा सहयोग गर्न अपिल गरेका छन्।
२०७२ को भूकम्प र कोभिड महामारीपछिका अनुभवले बीमाको आवश्यकता र उपयोगितालाई गम्भीर रूपमा महसुस गराएको सन्दर्भमा, हालको परिस्थितिमा बीमा कम्पनीहरूको सक्रियता सकारात्मक र आशाजनक देखिएको अध्यक्ष मल्लले बताए।