सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

आन्दोलनपछि फोहर बढ्यो, व्यवस्थापनका लागि ठाउँ अभाव : काठमाडौं महानगरपालिका

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ३ २०८२
आन्दोलनपछि फोहर बढ्यो, व्यवस्थापनका लागि ठाउँ अभाव : काठमाडौं महानगरपालिका
फाइल तस्बिर

थप ट्रान्सफर स्टेशनका लागि जग्गा प्राप्त गर्न नसक्दा क्षेत्रगत रूपमा गरिने भनिएको फोहर व्यवस्थापन कार्य पनि अघि बढ्न सकेको छैन।

काठमाडौं- काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा फोहर राख्ने स्थानको अभाव भएको जनाएको छ।

विभिन्न सरकारी तथा निजी संघसंस्थाले ‘जेनजी’ आन्दोलनका क्रममा निस्केका फोहर व्यवस्थापन गरिदिन आग्रह गरे पनि काठमाडौं महानगरपालिकाले स्थान अभाव र सुरक्षाका कारण देखाउँदै फोहर व्यवस्थापनमा समस्या भएको जानकारी दिएको हो।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार जेनजी आन्दोलनका कारण फोहर निकै बढेको छ। सबै फोहर ट्रान्फर स्टेशनमा राख्न पनि नमिल्ने र राख्न मिले पनि स्थानको अभाव छ।

'आन्दोलनका क्रममा सबैभन्दा बढी सिसा र फलामजन्य वस्तु रहेको ती सबै फोहर टेकु र अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा राख्न मिल्ने अवस्था छैन', उनले भनिन्। व्यवस्थापन गर्न सहज हुनेसम्मका फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गरिरहेको जनाएको छ।

नियमित फोहर व्यवस्थापनको काम छँदैछ यस्तो अवस्थामा थप फोहर व्यवस्थापन गर्नुपर्दा स्थान अभाव भएको राईले बताइन्। थप ट्रान्सफर स्टेशनका लागि जग्गा प्राप्त गर्न नसक्दा क्षेत्रगत रूपमा गरिने भनिएको फोहर व्यवस्थापन कार्य पनि अघि बढ्न सकेको छैन।

हाल काठमाडौं उपत्यकाका १८ स्थानीय तहबाट दैनिक एक हजार ६०० मेट्रिक टन फोहर निस्कने गर्छ। साविकको फोहरमा थप फोहर व्यवस्थापन गर्न समस्या भएको हो।

अहिले काठमाडौं उपत्यकाबाट दैनिक दुई सय गाडी नियमित रूपमा अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा व्यवस्थापनको काम हुँदै आएको छ। 


प्रकाशित : शुक्रबार, असोज ३ २०८२१०:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend