सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

पहिरोले बेनी-दरबाङ सडक अवरुद्ध

बिहीबार , असोज २ २०८२
पहिरोले बेनी-दरबाङ सडक अवरुद्ध

बेनीदेखि लाम्पाटा जाने क्रममा डोजरले बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोमा सडक फराकिलो बनाएको छ।

म्याग्दी- म्याग्दीका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ। यो सडक म्याग्दीको पश्चिमी क्षेत्रको ‘लाइफलाइन’ मानिन्छ।

मंगला गाउँपालिका-२ लाम्पाटामा बुधबार राति खसेको पहिरोका कारण मंगला, मालिका र धवलागिरी गाउँपालिकाको जिल्ल्ला सदरमुकाम बेनी बजारसँग सिधा यातायात सम्पर्क टुटेको हो।

सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत, ढुवानी र निकासीमा समस्या भएको छ। निर्माणाधीन जलविद्युत्, प्रसारणलाइन, सबस्टेसन, सडक, भवनलगायतका विकास आयोजनाहरु प्रभावित भएका छन्। 

विसं २०७३ अघि पनि लाम्पाटामा पहिरोको समस्या थियो। तत्कालीन जिविसले एसियाली विकास बैंकको सहयोगमा सो ठाउँमा पहिरो नियन्त्रण गरेको थियो। सडक माथिबाट नौ वर्षपछि पुनः पहिरो खस्न थालेको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए।

'लाम्पाटामा सडकमाथिको पाखो थप चर्किएकाले जुनसुकै बखत ठूलो पहिरो खस्ने जोखिम छ,' उनले भने, 'दरबाङ जान आउनका लागि हलुका सवारीसाधनका लागि माटेबगर-पोक- पिपलबोट-छिसवाङ-खोप्टी- छ्यारछ्यारे-दरबाङ जोड्ने वैकल्पिक सडकको व्यवस्था मिलाएका छौँ।'

अध्यक्ष रोकाले बिहीबार सार्वजनिक सूचना जारी गरेर पैदलयात्रुहरुका लागि बाबियाचौर-डौडेखोला-रसपुर-अल्काचौर-लाम्पाटा पदमार्ग प्रयोग गर्न अनुरोध गरेका छन्। पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले अपराह्न देखि डोजर परिचालन गरेर सडकको पहिरो पन्छाउन सुरु गरेको बताए।

पहिरो पन्छाउने डोजर पर्वतको मिलनचोकबाट टेलरमा राखेर लैजानुपर्ने भएकाले ढिलाइ भएको उनले बताए। म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली आफै पहिरो स्थलमा पुगेर सडक खुलाउन पूर्वाधार विकास कार्यालयसँग समन्वय गरेका छन्। 

बेनीदेखि लाम्पाटा जाने क्रममा डोजरले बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोमा सडक फराकिलो बनाएको छ। पहिरोले सडक साँघुरिँदा ठूला सवारीसाधन आवत जावतमा समस्या भएपछि फराकिलो पारिएको हो। 

फापरखेत, लाम्पाटा र बांगेपहिरो २४ किलोमिटर दुरीको बेनी-दरबाङ सडकको चुनौति बनेका छन्। यो सडक गण्डकी प्रदेश सरकारमार्फत स्तरोन्नति चरणमा पुगेको छ। रासस


प्रकाशित : बिहीबार , असोज २ २०८२१७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend