सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदूतको भेट, सहयोगको प्रतिबद्धता

बिहीबार , असोज २ २०८२
प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदूतको भेट, सहयोगको प्रतिबद्धता

भेटमा प्रधानमन्त्री सुशीला कार्कीले अमेरिकाले नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन्।

काठमाडौं- अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उनीहरुबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन्।

सो अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस्तै प्रम कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले पनि आजै शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा प्रधानमन्त्री कार्कीले नेपाल-चीनबीच दुईपक्षीय सम्बन्ध ऐतिहासिक एवं घनिष्ट रहेको र एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध रहेको बताएकी थिइन्।

प्रधानमनन्त्रीले कार्कीले आगामी दिनमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा चीनबाट प्राप्त सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानाले जानकारी दिइन्।

प्रधानमन्त्री कार्कीले बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुल पुनःनिर्माणमा तत्परतासहित चीन सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै अन्य नाकाहरूबाट पनि आवतजावत सहजीकरणका लागि आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन्।

नेपालका लागि चिनियाँ राजदूत चेन सङले चीन सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपाल र चीनबीचमा रहिआएको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे। चीन-नेपालबीच भएका सम्झौता, सहयोग र सहकार्यले निरन्तरता पाउने स्पष्ट गर्दै उनले दुवै देश र जनताका हितमा काम गर्न चीन सदैव तयार रहेको बताए। रासस


प्रकाशित : बिहीबार , असोज २ २०८२१६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend