सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने

बिहीबार , असोज २ २०८२
अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने

महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडिएको जनाएको छ।

काठमाडौं- अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ। महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडिएको जनाएको छ।

राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली आजदेखि जोडिएको र सञ्चालनमा आएको प्रवक्ता दीपक लामिछानेले जानकारी दिए। अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्तरुपमा अन्तरआबद्धता सेवा शुभारम्भ गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

सो प्रणालीको अन्तर आबद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकका लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाह कागजातरहित बनाउन सहयोग पुर्‍याउनेछ। 

त्यसैगरी, भौतिक उपस्थितिरहित बनाउनुका साथै चौबिसै घण्टा सेवा प्रवाह सुनिश्चित भएको छ। यसबाट द्रूत राजस्व संकलन, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुन गई डिजिटल इकोनोमीको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। 

यो भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिसा कार्ड, ‘अलिपे’लगायतका अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमा आबद्ध कार्डहरुमार्फत् अध्यागमन विभागद्वारा निर्धारित सेवा प्राप्त हुनेछ। यसले त्रिभुवन विमानस्थललगायतबाट प्रवेश गर्ने पर्यटकले सहजरुपमा यो सेवा लिनसमेत सहज हुने जनाइएको छ। 

यो सेवा हाललाई अध्यागमन विभाग र मातहतका निकायबाट प्रवाह हुने अध्यागमनसम्बन्धी राजस्व भुक्तानीमा सुरुवात भएको छ। आगामी दिनमा सरकारका अन्य निकायमा पनि क्रमशः सेवा विस्तार गर्दै लैजाने प्रवक्ता लामिछानेले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , असोज २ २०८२१६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend