सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

बिहीबार , असोज २ २०८२
प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

आगजनीबाट ध्वस्त जिल्ला ट्राफिक प्रहरी कार्यालयले एउटा कोठाबाट काम सुरु गरेको छ। स्थानीयको आर्थिक सहयोगमा भवन मर्मत सुरु गरिएको छ।

भक्तपुर- जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते जलाइएका भक्तपुरका दुई प्रहरी वृत्तसहित १७ वटा प्रहरी प्रभाग एवं एकाइहरु स्थानीयको आर्थिक सहयोगमा धमाधम मर्मत गरिएका छन्। 

जगाती प्रहरी वृत्त र थिमि प्रहरी वृत्तको मर्मत जारी छ भने कतिपय प्रहरी प्रभाग एवं चौकीहरु स्थानीयले मर्मत गरिरहेका छन्। आगजनीबाट ध्वस्त जिल्ला ट्राफिक प्रहरी कार्यालयले एउटा कोठाबाट काम सुरु गरेको छ। स्थानीयको आर्थिक सहयोगमा भवन मर्मत सुरु गरिएको छ।

चार वर्ष अगाडि व्यवसायी नवीन प्रजापतिको संयोजकत्वमा निर्माण गरिएको भवन जलाइए पछि पुनः प्रजापतिकै नेतृत्वमा सरसफाइ गरी एउटा कोठाबाट सेवा सुरु गरिएको ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए।

सूर्यविनायक नगरपालिका-८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज बस्नेतको नेतृत्वमा निर्माण उपभोक्ता समिति गठन गरेर वडावासीसहितले प्रहरी वृत्त जगातीको भवन चारदिनदेखि सफाइ र प्लाष्टर गरिरहेका छन्।

प्रहरी वृत्त मर्मतका लागि करिब ३५ देखि ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 'हामी वडावासी, व्यवसायी, नागरिक समाजबाट आर्थिक सहयोग जुटाएर प्रहरी वृत्तलाई पुरानै अवस्थामा ल्याउन जुटिरहेका छौँ, आजसम्म जलेका भाग पन्छाइयो, कालो पखालेर प्लाष्टर गर्ने, चिप्स राख्ने काम गरिरहेका छौँ', उनले भने।

प्रहरीले यहाँको सेवा प्रहरी प्रभाग डोलेश्वरको भवनबाट दिइरहेको छ। आगजनीबाट सूर्यविनायक-७ गुण्डु प्रहरी चौकीको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएपछि स्थानीयकै सहयोगमा पुनर्निर्माण भइरहेको वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए। कटुञ्जेको सामुदायिक प्रहरी कार्यालय पनि स्थानीयको सहयोगमा मर्मत भइरहेको छ।

चाँगुनारायण नगरपालिका-८ स्थित प्रहरी चौकी सुडालको भवन आगजनीबाट पूर्णरुपमा क्षति भएपछि वडाध्यक्ष जनक खत्रीको नेतृत्वमा स्थानीयबाट संकलित रकमबाट मर्मत भइसकेको छ। 

चाँगुनारायण प्रहरी चौकीको भवन पनि स्थानीयले मर्मतसुरु गरेका छन्। वडा नं. १ सरस्वतीखेलमा रहेको प्रहरी युनिटको कार्यालय मर्मत गरी सञ्चालन गरिएको वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए।

मध्यपुरथिमिस्थित प्रहरी वृत्त भवन मर्मत भइरहेको छ। अभियन्ता अनिश वैद्यको नेतृत्वमा सरसफाइ र मर्मत भइरहेको हो। अभियन्ता वैद्यले भने, 'प्रहरी वृत्त थिमिको गेट नै फेरेका छौँ, अहिलेसम्म नौ लाख भन्दा बढी आर्थिक सहयोग स्थानीय नागरिक एवं दाताबाट संकलन भएको छ। करिब २५ देखि ३० लाख खर्च हुने अनुमान छ।'

स्थानीयले सानोठिमी प्रहरी प्रभागको मर्मतसँगै रंगरोगन गरी हस्तान्तरण गरेको छ भने मनोहरा किनारमा रहेको दिश्वश्वरी प्रहरी चौकीको भवन पनि स्थानीयले मर्मत गरी हस्तान्तरण गरिएको छ। रासस


प्रकाशित : बिहीबार , असोज २ २०८२१४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend