सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये ३४८ जना फर्किए, ४२५ जना अझै फरार

बिहीबार , असोज २ २०८२
कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये ३४८ जना फर्किए, ४२५ जना अझै फरार

भागेका ७७३ कैदीबन्दीमध्ये बुधबारसम्ममा ३४८ जना कारागार फर्किएका छन्। ४२५ जना कैदीबन्दी अझै फरार रहेको कारागार कार्यालयले जनाएको छ।

गण्डकी- जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका ७७३ कैदीबन्दीमध्ये बुधबारसम्ममा ३४८ जना कारागार फर्किएका छन्। ४२५ जना कैदीबन्दी अझै फरार रहेको कारागार कार्यालयले जनाएको छ।

कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए। भागेका कैदीबन्दीलाई कारागार फर्काउन प्रहरी सक्रिय रहेको उनको भनाइ छ। 

प्रदर्शनकारीले गत भदौ २४ गते राति कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए। जिल्ला प्रहरी कार्यालयको हिरासतबाट भागेका थुनुवालाई पनि खोजी गरी नियन्त्रणमा लिने काम भइरहेको सूचना अधिकारी बस्नेतले बताए। उनका अनुसार हिरासतबाट ८३ थुनुवा भागेका थिए।

कारागार कार्यालयका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताए। टोलछिमेक र समुदायमा कसैले भागेर गएका कैदीबन्दी र थुनुवा देखेमा कारागार कार्यालय र प्रहरीमा खबर गर्न अनुरोध गरिएको उनको भनाइ छ। 

त्यसअघि कारागार व्यवस्थापन विभाग र जिल्ला प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई काराबार फर्कन आह्वान गरेको थियो।

जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशमा कास्कीसहित तनहुँ, पवर्त र म्याग्दी कारागारबाट कैदीबन्दी भागेका थिए। कारागार व्यवस्थापन विभागले भागेका कैदीबन्दी आफै कारागार नफर्किएकामा विशेष सुरक्षा अपरेशन सञ्चालन गरेर उनीहरुलाई फर्काउने योजना बनाएको छ। रासस


प्रकाशित : बिहीबार , असोज २ २०८२१३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend