बैतडी- पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत दोगडाकेदार गाउँपालिका-५ सलसेनामा आज बिहान पहिरो खसेको हो।
पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। सडकमाथिबाट खसेको पहिरोले राजमार्ग ठप्प छ। राजमार्ग अवरुद्ध हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका गाडीहरु अहिले बीच बाटोमै रोकिएका छन्।
राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रायले बताए। यसअघि मंगलबार पनि पहिरोका कारण उक्त राजमार्ग अवरुद्ध भएको थियो। रासस