काठमाडौं- देशभर साधारणतया मौसममा बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति पनि देशभर साधारणतया बदली रहनेछ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ। रासस