काठमाडौं- म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६२ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ। बेनी नगरपालिका-२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट गत भदौ २५ गते बिहान तोडफोड गरी ७६ जना कैदीबन्दी भागेका थिए।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले १४ जनाबाहेक सबै कारागार फर्काइएको जानकारी दिए। फरार कैदीबन्दीको खोजीमा प्रहरी टोली परिचालन भएको छ।
काठमाडौंबाट भागेर आएका एक र कास्कीबाट आएका दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। कारागारमा भएका ८८ जनामध्ये महिला बल्कमा रहेका ६ जना, पुरुष बल्कका ६ जना बिरामी र हिँड्न नसक्नेबाहेक सबै भागेका थिए।
प्रहरी निरीक्षक पौडेलका अनुसार कैदीबन्दी भगाउन सहयोग गर्ने पाँच जनालाई पनि पक्राउ गरेर कारागार ऐन, २०७९ बमोजिम मुद्दा चलाइएको छ । बेनी नगरपालिका-२ खबराका २९ वर्षीय अर्जुन जिसी, २६ वर्षीय डिलबहादुर सापकोटा, बेनपा-१ का २६ वर्षीय कृष्णबहादुर मगर, २७ वर्षीय सुनील थापामगर, ३१ वर्षीय सुशन थापामगर र १९ वर्षीय अभिषेक परियार हाल प्रहरी हिरासतमा छन्।
यस्तै, जेनजी प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१ जना फर्किएका छन्।
गत भदौ २५ गते कारागारबाट फरार भएका कैदीबन्दीमध्ये केहीलाई सुरक्षाकर्मीले घरबाट पक्राउ गरेका थिए भन केहीले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए।
उनका अनुसार अझै फरार हुनेमा रसुवा कालिका-३ का रूपेश नेपाली, रसुवा उत्तरगया-३ का छिरिङ भन्ने सुमन तमाङ, गोसाइँकुण्ड गाउँपालिका-१ का निमा दोर्जे तामाङ र सोही गाउँपालिकाका-३ का कर्मा सोनाम तामाङ छन्। साथै नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका-१ का वीरमान तामाङ र सोही गाउँपालिका-५ का निर्मल तामाङ रहेको प्रहरीले जनाएको छ। रासस