सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

शुक्लाफाँटा नगरपालिकाको प्रशासकीय भवनसहित १२ वटै वडा कार्यालयमा तोडफोड र आगजनी, सेवा ठप्प

बुधबार, असोज १ २०८२
शुक्लाफाँटा नगरपालिकाको प्रशासकीय भवनसहित १२ वटै वडा कार्यालयमा तोडफोड र आगजनी, सेवा ठप्प

सेवाग्राहीले बुझाएको राजस्वबापतको रकम, ल्यापटपसहित विभिन्न सामग्री लुटेर लगेका वडाका कर्मचारीको भनाइ छ।

कञ्चनपुर- जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षति पुगेपछि शुक्लाफाँटा नगरपालिकामा कार्य सञ्चालन हुन सकेको छैन। प्रदर्शनकारीले नगरपालिकाको प्रशासकीय भवनका साथै १२ वटै वडा कार्यालयमा तोडफोड गरी सामग्रीमा आगो लगाएपछि नियमित कार्यसञ्चालनमा समस्या भएको हो।

तोडफोड गरिएका, आगजनी गरी जलाइएका संरचना तथा सामग्रीको क्षतिको मुचुल्का तयार गर्न, मूल्यांकन गर्न, सरसफाइ गर्न समय लाग्ने भएकाले कार्यालय सञ्चालन हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए।

उनका अनुसार प्रदर्शनकारीले वडा नं १, ४ र ७ भवनमा आगो लगाएर नोक्सानी गरेका छन् भने कार्यालयभित्रका महत्त्वपूर्ण कागजपत्र, फर्निचर, कम्प्युटर, पङ्खा, एसी, प्रिन्टरलगायत सामग्री जलाएका छन्।

सेवाग्राहीले बुझाएको राजस्वबापतको रकम, ल्यापटपसहित हात्ती प्रभावित क्षेत्रमा वितरणका लागि राखिएका टर्चलगायत सामग्री लुटेर लगेका वडाका कर्मचारीको भनाइ छ।

नगरपालिकामा हालसम्म वडा नं १० ले वैकल्पिक व्यवस्थासहित स्वास्थ्य कार्यालयको बरण्डाबाट आंशिकरूपमा सेवा दिन सुरु गरेको छ। नगरको नियमित कार्यसञ्चालनमा ल्याउनका लागि एकसाता लाग्ने अधिकृत विष्टले बताए।

यसैगरी, कृष्णपुर नगरपालिले क्यान्टिनबाट सेवा सञ्चालनको तयारी गरेको छ। पुनर्वास नगरपालिकामा पनि आगजनी र तोडफोडबाट क्षति पुगेकाले कार्यालय सञ्चालन हुन सकेको छैन। रासस


प्रकाशित : बुधबार, असोज १ २०८२१६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend