सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

खोटाङमा चाडपर्वलक्षित सुपथ मूल्यका चामल पसल सञ्चालनमा, स्थानीयलाई सहज

बुधबार, असोज १ २०८२
खोटाङमा चाडपर्वलक्षित सुपथ मूल्यका चामल पसल सञ्चालनमा, स्थानीयलाई सहज

खाद्य कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालन गरेपछि ग्रामीण भेगमा बसोबास गर्दै आएका स्थानीयलाई सहज भएको छ।

खोटाङ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले जिल्लाका तीन स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ। दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै लिमिटेडले दिक्तेल बजारसहित ऐसेलुखर्क गाउँपालिका र खोटेहाङ गाउँपालिकामा चामलको सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको शाखा कार्यालय प्रमुख सुजनबाबु आचार्यले जानकारी दिए।

उनका अनुसार जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित व्यापार कम्पनी लिमिटेडको कार्यालय र गोदाम, ऐसेलुखर्कमा डिपो कार्यालय तथा खोटेहाङ गाउँपालिकामा डिपो कार्यालयबाट सस्तो मूल्यमा चामल बिक्री सुरु गरिएको हो।

यसअघि प्रतिकिलो ६५ रूपैयाँमा बिक्री भइरहेको अरुवा सोना मन्सुली चामल डिपो कार्यालय ऐसेलुखर्क र खोटाङबजारमा हाल प्रतिकिलो ६० रूपैयाँमा बिक्री सुरु गरिएको छ। यस्तै, प्रतिकिलो ९० रूपैयाँमा बिक्री भइरहेको स्टिम जिरा मसिनो चामल प्रतिकिलो ८५ रूपैयाँमा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ।

दिक्तेलबाट प्रतिकिलो ६४ रूपैयाँमा बिक्री भइरहेको अरुवा सोना मन्सुली चामल अहिले प्रतिकिलो ५९ रूपैयाँ, प्रतिकिलो ९० रूपैयाँमा बिक्री भइरहेको स्टिम जिरा मसिनो चामल ८५ रूपैयाँमा र प्रतिकिलो ९० रूपैयाँमा बिक्री हुँदै आएको स्तरोन्नति गरिएको स्टीम जिरा मसिनो चामल ८५ रूपैयाँमा बिक्री सुरु गरिएको प्रमुख आचार्यले जानकारी दिए।

चाडपर्वको समयमा उपभोक्तालाई सस्तो मूल्यमा चामल उपलब्ध गराउँदै खाद्यवस्तुमा बजार मूल्य स्थिरीकरण गर्न सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख आचार्यले बताए। खाद्य कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालन गरेपछि ग्रामीण भेगमा बसोबास गर्दै आएका स्थानीयलाई सहज भएको छ।

अहिलेका लागि पाँचसय क्विन्टल चामल उपलब्ध रहेको जनाइएको छ। दश स्थानीय तह रहेको जिल्लामा वर्षभरिका लागि तीन हजार क्विन्टल चामल उपलब्ध हुने कार्यालय प्रमुख आचार्यले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, असोज १ २०८२१५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend